काठमाडौँ — जापानका लागि प्रस्तावित राजदूत जिग्यान कुमार थापा जापानकै स्थायी बासिन्दा रहेको खुलेको छ। उनले जापानको एउटा अनलाइनलाई दिएको अन्तर्वार्तामा आफूले सन् २०१८ मै जापानको स्थायी बसोबास अनुमति (पीआर) लिएको र त्यहाँ आफ्नै घर रहेको स्वीकार गरेका छन्।
थापाले अन्तर्वार्तामा भनेका छन्, ‘सन् २०१८ मा स्थायी बसोबास अनुमति प्राप्त गरेपछि मैले जापानमै बस्ने निर्णय गरेँ। मेरो विवाह नेपाली महिलासँग भएको छ र हाम्रा दुई छोराछोरी जापानमै जन्मेका छन्। उनीहरूले यहीँ शिक्षा हासिल गरेका छन्। मेरी श्रीमतीले जापानी भाषा पढेकी थिइन् र एसिया, मध्य तथा दक्षिण अमेरिका एवं अफ्रिकाका अनुसन्धानकर्ताहरूसँग जापानी विद्यालयमा गरिबी न्यूनीकरण र शान्ति निर्माणको अध्ययन गरेकी थिइन्। हाल उनी जापानमा नेपाली भाषा विद्यालय चलाउँछिन्।’
आफ्ना छोराछोरीहरू जापानमै जन्मे–हुर्केका कारण जापानमै बसून् र आफ्ना कारणले उनीहरूले बारम्बार बसोबासको ठाउँ परिवर्तन गर्नु नपरोस् भन्दै समुदायकै सदस्यका रूपमा हुर्काउन आफूले कानागावा प्रिफेक्चरमा घर किनेको उनले स्पष्ट पारेका छन्। ‘म अर्को पुस्ताको जीवनको कदर गर्न चाहन्छु,’ अन्तर्वार्तामा उनले उल्लेख गरेका छन्।
परराष्ट्र मन्त्रालयले २०८३ जेठ १४ गते राजदूतका लागि दरखास्त आह्वान गर्दा आवश्यक योग्यतामा ‘कुनै पनि विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति (पीआर) वा अध्यागमन सुविधा नलिएको हुनुपर्ने’ स्पष्ट व्यवस्था गरेको थियो। तर जापानका लागि राजदूतमा सिफारिस भएका थापाले अन्तर्वार्तामै आफूसँग पीआर रहेको, जापानमा घर किनेको तथा परिवारसहित उतै बसोबास गरिरहेको खुलाएका छन्।
उक्त अन्तर्वार्ता अनुसार थापा ६ वर्षकै उमेरदेखि जापानी नागरिकहरूको सङ्गतमा लागेका थिए। एसएलसी उत्तीर्ण गरेपछि जापानी भाषा सिकेर उनले लामो समय नेपालमै जापानसँग सम्बन्धित विभिन्न संघसंस्थामा काम गरे। सन् २००० मा छात्रवृत्तिमा अध्ययन गर्न जापान पुगेपछि उनी उतै बस्न थालेका थिए।
नेपाल र जापानबिच भएका थुप्रै उच्चस्तरीय भ्रमणका क्रममा उनले दोभाषेको भूमिका निर्वाह गरेका थिए र अहिले पनि सो काम गर्दै आएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाल–जापान सम्बन्ध अभिवृद्धिमा दुई दशकभन्दा बढी समय समर्पित गरेका थापाले योकोहामा नेशनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध र कानुनमा स्नातकोत्तर तथा शुमेई युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सहकार्यमा स्नातक गरेका छन्। उनले सन् २००९ देखि कानागावा इन्टरनेशनल फाउन्डेसनमा अन्तर्राष्ट्रिय सहकार्य, सार्वजनिक नीति तथा बहुसांस्कृतिक मामिला विज्ञका रूपमा काम गर्दै आएका छन्।
त्यस्तै, सन् २००५ देखि उनले उच्चस्तरीय नेपाल–जापान द्विपक्षीय कार्यक्रमहरूको संयोजकका रूपमा दुवै देशका राष्ट्रप्रमुख, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूको भ्रमण तथा आदानप्रदानमा सहजीकरण गर्दै आएका छन्।
थापाले सन् २०२६ मा नेपाली राष्ट्रपतिको जापान भ्रमणका क्रममा आयोजित नेपाल–जापान व्यापार संवादको संयोजन गरेका थिए। उनले अन्तर्राष्ट्रिय सहकार्य र आप्रवासन सुशासनका पहलहरूमा जाइका, युनिसेफ र जापानी स्थानीय सरकारहरूसँग नजिक रहेर काम गरेका छन्। उनी नेपालस्थित जापानी उद्योग वाणिज्य संघका सल्लाहकार, गैरआवासीय नेपाली संघ (जापान) का पूर्वमहासचिव तथा जापानस्थित नेपाली विद्यार्थी संघका पूर्वअध्यक्षसमेत हुन्।
थापाले सुकुबा, ओयामा गाकुइन र निहोन युनिभर्सिटीलगायतका जापानी विश्वविद्यालयहरूमा सह–प्राध्यापकका रूपमा अध्यापन गराउँदै आएका छन्। जापानी भाषामा निपुण उनले नेपाल–जापान सम्बन्ध र तुलनात्मक सार्वजनिक प्रशासनका विषयमा व्यापक लेखन गरेका छन्। (रातोपाटीबाट)


