काठमाडौं— दुबईबाट इजरायलका लागि उडेको फ्लाईदुबईको विमानमा सहपाइलटले कप्तानमाथि चक्कु प्रहार गरी विमान दुर्घटना गराउन खोजेको आरोप लागेको छ। घटनापछि यात्रुहरू ककपिटमा प्रवेश गरी आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि ठूलो हवाई दुर्घटना टरेको हो।

बुधबार भएको घटनाका बेला विमानमा यात्रु र चालक दलका गरी १७४ जना सवार थिए। विमानले तीव्र रूपमा उचाइ गुमाएपछि यात्रुहरू आतंकित भएका थिए। करिब ३३ हजार फिटको उचाइमा रहेको विमान एक मिनेटभित्रै १७ हजार फिटसम्म झरेको उडान विवरणमा देखिएको छ।

घटनापछि विमानले साउदी अरबको तबुकमा आपत्कालीन अवतरण गरेको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका अनुसार आक्रमणमा संलग्न व्यक्ति ओमानका नागरिक हुन्। उनलाई साउदी अरबमा पक्राउ गरी सोधपुछ भइरहेको छ। घटनाको उद्देश्य भने स्पष्ट भएको छैन।

विमानमा रहेका यात्रु यानिभ हायुनका अनुसार ककपिटको ढोका खुला रहेको देखेपछि आफूहरू त्यहाँ प्रवेश गरेका थिए। ककपिटभित्र कप्तान घाइते अवस्थामा थिए भने आक्रमणकारी पनि त्यहीँ थिए। यात्रुहरूले आक्रमणकारीसँग संघर्ष गरी उनलाई नियन्त्रणमा लिएका थिए।

हायुनले आफूले टेलिभिजनमा देखेको तरिकाअनुसार विमानको नियन्त्रण प्रणाली सम्हाल्ने प्रयास गरेको बताएका छन्। त्यसपछि चालक दलका अन्य सदस्यले विमानको नियन्त्रण सम्हालेका थिए।

घटनामा घाइते कप्तान स्मित मच्छार भारतीय नागरिक रहेको नेतान्याहूले बताएका छन्। भारतीय दूतावासका अनुसार उनको अवस्था स्थिर छ। घटनामा थप तीन यात्रुलाई सामान्य चोट लागेको बताइएको छ।

विमानमा इजरायल, भारत र संयुक्त अरब इमिरेट्सका नागरिकहरू रहेको बताइएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार चार यात्रुसँग अमेरिकी नागरिकता थियो।

तीव्र रूपमा उचाइ घटाउने क्रममा विमानको पुच्छरमा रहेको रडरको ठूलो हिस्सा क्षतिग्रस्त भएको बताइएको छ। उड्डयन सुरक्षा विज्ञहरूले यस्तो अवस्थामा पनि विमान सुरक्षित रूपमा अवतरण हुनुलाई असाधारण घटना बताएका छन्।

घटनापछि इजरायलले सम्भावित अपहरणको आशंकामा लडाकु विमानसमेत परिचालन गरेको थियो। फ्लाईदुबईले अनुसन्धान पूरा नभएसम्म इजरायल जाने तथा इजरायलबाट आउने आफ्ना उडानहरू स्थगित गर्ने जनाएको छ।