विराटनगर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को तयारीलाई तीव्रता दिँदै प्रदेश खेलकुद विकास बोर्ड, कोशीले पौडी खेलको बन्द प्रशिक्षण कार्यक्रम शुभारम्भ गरेको छ ।
कर्णाली प्रदेशको सुर्खेतमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्ने लक्ष्यसहित बोर्डले विराटनगरस्थित एभरेस्ट कलेजको स्विमिङ पुलमा बन्द प्रशिक्षण थालेको हो ।
इटहरीको ओसियन पार्कमा गत शनिबार छनोट प्रतियोगिताबाट छानिएका खेलाडीलाई लिएर बन्द प्रशिक्षण थालिएको कोशी प्रदेशका पौडीका मुख्य प्रशिक्षक इन्द्रजित राजभण्डारीले जानकारी दिए ।
उनका अनुसार कोशीका अरू १० जना पौडीका खेलाडीले विराटनगरमा, ९ जनाले काठमाडौंका विभिन्न ठाउँमा र एक जनाले अमेरिकामा प्रशिक्षण लिइरहेका छन् ।
विराटनगरमा ट्रेनिङ लिनेहरूलाई मुख्य प्रशिक्षक राजभण्डारी र सहायक प्रशिक्षक डम्बरबहादुर थापाले प्रत्येक दिन बिहान ३ घण्टा र बेलुका अढाइ घण्टा जति प्रशिक्षण दिइरहेका छन् ।
कोशी प्रदेशका अब्बल खेलाडीमध्येका एक विकास कुमालले अमेरिकामा ट्रेनिङ लिइरहेका छन् । उनले उतै स्विमिङसँग सम्बन्धित पढाइ गरेका छन् । कुमाल नेपाल ब्रेस्ट स्ट्रोकको गोल्ड मेडलिस्ट पनि हुन् ।
कोशीका अर्का खेलाडी आरोन भण्डारी एनएसए कपको स्वर्ण पदक विजेता पनि हुन् । यस्तै भोजपरकी सिसोमबुन राई पनि एनएसए स्वर्णपदक विजेता हुन् ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पौडीतर्फ करिब पाँच वटा गोल्ड मेडलको अपेक्षा गरिएको प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य सचिव विप्लव घोषको भनाइ छ । सोही आशाअनुरूप क्लोज क्याम्प ट्रेनिङ थालेको उनले बताए ।
दशौंअन्तर्गत पौडी प्रतियोगिता आगामी मंसिर ८ गतेदेखि ११ गतेसम्म नेपालगन्ज पौडी पोखरीमा हुनेछ ।


