काठमाडौं—केही मानिसलाई लामखुट्टेले अरूको तुलनामा बढी टोक्ने गरेको पाइन्छ। तर सबै प्रजातिका लामखुट्टेको रोजाइ एउटै नहुने नयाँ वैज्ञानिक अनुसन्धानले देखाएको छ।
अमेरिकाको फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटीका अनुसन्धानकर्ताले ११९ जना स्वयंसेवकमा गरेको अध्ययनमा तीन प्रजातिका लामखुट्टेले फरक–फरक मानिसलाई प्राथमिकता दिएको पाएका छन्।
अध्ययनअनुसार मानिसको छालाबाट निस्कने प्राकृतिक गन्ध, विभिन्न रासायनिक पदार्थ तथा छालामा बस्ने सूक्ष्म जीवाणुले लामखुट्टेलाई आकर्षित गर्ने गर्छन्।
अझ रोचक कुरा त के छ भने, अध्ययनमा सहभागी कुनै पनि व्यक्ति तीनवटै प्रजातिका लामखुट्टेको पहिलो रोजाइमा परेनन्।
वैज्ञानिकहरूका अनुसार यो अनुसन्धानले भविष्यमा डेंगु, जिका लगायत लामखुट्टेबाट सर्ने रोग नियन्त्रणका लागि अझ प्रभावकारी र लक्षित विकर्षक (रिपेलेन्ट) विकास गर्न सहयोग पुर्याउन सक्छ।


