भूमिप्रसाद पाठक,
पथरी, २२ चैत्र । कोभिड – १९, कोरोना भाइरसको सम्भावित बिस्तार, प्रभाव र संक्रमणबाट बच्न सरकारले लक डाउन घोषणा गरेको अब क्रमशः दुइहप्ता पूरा हुन लाग्दैछ ।

समय र परिस्थितिले यसको समिक्षा गर्ला ! लक डाउन कार्यान्वयनको समयमै प्रहरी इलाका कार्यालयले आफ्नो क्षेत्रमा सुरक्षा बन्दोबस्तलाई झन कडा बनाएको छ, चौतर्फी निगरानी बढाएको छ ।
केही दिनअघि मात्र आफ्नै साथीभाइबाट कुटिएका वडा नं. १० निवासी दीपक पयाङ्बुले उपचारको क्रममा देहत्याग गरे । फरार अभियुक्तलाई नियन्त्रणमा लिएर कानुनतः कारबाहीको प्रक्रिया अघि बढे पनि समाजमा यसको पराकम्पन साम्य हुन नपाउँदै पथरीको हाटबजार क्षेत्रमा गए राती स्थानीय व्यक्ति दीलिप तामाङमाथि धारिलो चाकु प्रहार भएको छ ।
यी केही अराजक शैलीमा रचिएका आपराधिक प्रकृतिका घटनाहरू घटेसँगै प्रहरीले आफ्नो भूमिका सशक्त ढंगले बढाएको हो । घटनास्थलको वस्तुस्थितिबारे गरिएको अध्ययन अनुसन्धानपछि प्रयोग गरिएको हतियार सहित बजारक्षेत्र निवासी विजय लिम्बुलाई प्रहरीले हिजै आफ्नो नियन्त्रणमा लिएको छ ।
अपराध रोकथाम र उन्मुलनका सन्दर्भमा निज लिम्बुमाथि कारबाहीको प्रक्रिया अघिबढेसँगै पथरीमा घट्ने कैयौं घटना, घटनासँग जोडिएका यस्ता अक्षम्य अपराधपूर्ण गतिविधिहरू र आपराधिक मनोवृत्तिका बारेमा सम्भाव्य केही विषयवस्तुमाथि पनि सुक्ष्म ढंगले अध्ययन अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दीपिलकुमार गिरीको भनाइ छ ।
लक डाउन कार्यान्वयनमा आएसँगै स्थानीय सरकारको भूमिकामा रहेको नगरपालिका, इलाका प्रहरी कार्यालय पथरी, पथरी उद्योग वाणिज्य संघ र यहाँको सचेत नागरिक समाज स्वतस्फुर्त एकसाथ जुरूक्कै कोरोनाविरूद्ध मैदानमा उत्रिएपछि पूर्वोत्तर मोरङमै पथरी शनिश्चरे कम जोखिमयुक्त र सुरक्षित ठहरिएको छ ।
कोरोना संक्रमणको उपचार छैन, आफू बच्नु र परिवार सहित बाँच्नका लागि पूर्णतः सावधानी अपनाउनुको विकल्प पनि छैन भन्ने आत्मअनुशासनको विषयलाई सरोकारवाला यहाँको सबैले राम्रोसँग बुझेको आभास हुन्छ ।
क्वारेन्टाइन परिपालनाअन्र्तगत प्राप्त फुर्सदको यो समयलाई अधिकांश मानिसले आ–आफ्नै क्षेत्रगत संलग्नता, रूचि र विधाअन्तर्गत कामतमाम गरेका छन्, कार्यसम्पादन गरेका छन भने ग्रामीण कृषिमा आधारित कतिपय मानिस कोरोना संक्रमण सावधानी अवधिमा कृषि निर्भरतालाई बढावा दिँदै वैज्ञानिक र भूमिसुधार सहितको कृषिकाममा समेत लागेको पाइन्छ ।
यसले पनि सडकमा हिड्ने मानिसको संख्या र भीडभाडपूर्ण देखिने स्थानीय जनजीवन ‘सामाजिक दूरी’ का हिसावले एकदमै पातलिएको भेटिन्छ ।
यसै त विश्वका विकसित मानिएको देश अमेरिकाभन्दा नेपाल संक्रमण रोकथाम र व्यवस्थापनका सन्दर्भमा अगाडि देखिएको विद्युतीय सञ्चारमाध्यमले बताएको छ ।
पूर्वको मोरङ यसको अपवाद हुन सक्दैन । स्वास्थ्यसम्बन्धी उच्चसतर्कता र सचेतना अवलम्बनका दृष्टिकोणले अपवादबाहेक अधिकांश नेपालीहरूले कोरोना संक्रमणका दृष्टिकोणले प्रभावित मानिएका क्षेत्रमा परस्पर सामाजिक दूरी कायम गरेका छन्, आपसी भेटघाट र भीडभाड निस्तेज गर्दै आएका छन् ।
विभिन्न माध्यमबाट दीक्षित प्रशिक्षित पथरी शनिश्चरेमा यो स्वास्थ्य विज्ञानका हिसावले जारी आचारसंहिता पूर्णतः कार्यान्वयन भएको देखिन्छ ।
यहाँ मात्र होइन, नेपालकै शहरबजारमा लाग्ने हाटबजार, सार्वजनिक यातायात्र, होटल, रेस्टुरेन्ट, क्याफे, सपिङ सेन्टर, म्युजियम महल, फिल्म हल, मठमन्दिर, चर्च, गुम्बा, स्कुल, चौक, बर्स पार्कलगायत भीडभाड हुने ठाउँहरूमा मानिसको हुने स्वभाविक चहलपहललाई अस्वभाविक ढंगले नियन्त्रणमा लिएसँगै कोरोना संक्रमणको समस्या न्युन भएको प्रहरी नायब उपरीक्षक गिरीको दावी छ ।
अहिले नै त्रासमुक्त भएर ढुक्कसँग बस्न सकिने अवस्था आइनसकेकोले सम्भावित क्षेत्रमा सरोकारवाला सबैको निगरानी सहित सावधानी बढाउनुपर्ने मान्यता अघि सार्दै आउनुभएको नगर उपप्रमुख यमुना बिष्ट भने मानिसको दैनिकी टार्न चाहिने अत्यावश्यक वस्तुहरू जस्तो कि ग्रोसरी, खाद्यान्न पसल, कृषि बजार, फार्मेसीलगायत क्षेत्रमा नियमित अनुगमन र नियमन कार्यान्वयनमा आएका कारण अहिलेसम्म आलोचना र आरोप–प्रत्यारोपको अप्रिय अवस्था नआएको बताउनुहुन्छ ।
यता जारी लक डाउनका कारण विपन्न र अति विपन्नलाई मात्र होइन, आमरूपमा सबैलाई अत्यावश्यक खाद्यान्नमा समस्या हुनसक्ने भएपछि नगरका खाद्य उत्पादकहरू खासगरिकन चामल मिल सञ्चालकसँग राहत अभियानमा समेत सहयोग पुग्ने गरी सुक्ष्म संवाद भएको छ ।
नगर उपप्रमुख यमुना बिष्टको अगुवाइमा नगर उपसचिव शालिग्राम काफ्ले, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, इलाका प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरी सहितको टोलीले पथरी बजार क्षेत्रमा रहेका चामल मिलहरूको अनुगमन् गर्नेक्रममा कोरोना भाइरस सर्नबाट बच्नुका साथै सुरक्षित हुने तबरले चामल मिलहरू सञ्चालन गरी नगरबासीको अत्यावश्यक खाद्यान्न अभाव हुन नदिन अनुरोध सहित अनुमति प्रदान गरेको छ ।
मिल चलाउँदा पनि कम्तिमा डेढ मिटरको दुरीमा रहेर, मास्क, ग्लोब र सेनिटराइजको प्रयोग गरी चामल कुटानी र विक्री वितरण गर्न सचेत गराइएको उवासंघका अध्यक्ष बस्नेतले बताउनु भएको छ ।


