काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको विवाद सुल्झाउनका लागि गठित कार्यदलबारे आएको गलत प्रचार भ्रामक र नितान्त गलत भएको बताएका छन् ।

प्रवक्ता श्रेष्ठले कार्यदल गठनले पार्टी एकताको रक्षा सुनिश्चित भएको बताएका छन् । उनले पार्टीभित्रका समस्याहरुको समाधान र संकटको निकासका लागि दुई अध्यक्षले कार्यदल गठन गरेको र त्यसले काम समेत थालिसकेको भन्दै तात्कालीन रुपमा कोभिड–१९ को नियन्त्रण,उ पचार र अर्थतन्त्रको पुनर्निर्माण र अन्ततः राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्ने बताएका छन् ।

उक्त प्रस्ताव स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपूर्ण छलफल गरी संस्थागत निर्णय गरिने प्रवक्ता श्रेष्ठले बताएका छन् ।

उनले कार्यदलको गठनका बारेमा भ्रमात्मक प्रचार गर्नु नितान्त गलत भएको बताउँदै भनेका छन्, ‘तर एउटा कुरामा भने हामी सबै सचेत र गम्भीर बनौं, पार्टीभित्र केही बिषयमा कुनै छलफल, बहस र संघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भईहाल्नु उपयुक्त हुँदैन । बरु पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ बैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गरिनु पर्दछ ।’

प्रवक्ता श्रेष्ठलगायतका नेकपाका शीर्ष नेता कार्यदल गठनप्रति असन्तु्ष्ट रहेको समाचारहरु आइरहेका बेला उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो धारणा सार्वजनिक गरेका हुन् ।


‬