भगवती अर्याल
बिराटचौक , ५ भदौ । माइतीमा गएर छमछम नाच्ने तीजको दिन शुक्रबार कोरोना संक्रमणले निषेधाज्ञाका कारण यहाँका महिला घरबाहिर निस्कन पाएका छैनन् । माइती, मावली जाने त कुरै भएन, चोकसम्म पनि निस्कन र भेटघाट गर्न नपाएपछि तीज खल्लो भएको छ ।

माइतीमा आमा र दिदीबहिनीसँग रमाउने तीजमा घरमै रत्यौलीमा झैँ सासू, देवरानी र जेठानीसँग नाचेर तीज मनाउन महिलाहरु बाध्य छन् । माइतीमा आमा र दिदीबहिनीसँग रमाउने तीजमा घरमै रत्यौलीमा झैँ सासू, देवरानी र जेठानीसँग नाचेर तीज मनाउन महिलाहरु बाध्य छन् । मोरङ्ग सुन्दरहरैचा नगरपालिका -९ की ८४ तुलसादेवी ढकालले जीवनमा पहिलोपटक यस्तो तीज देखेकी छन् । उनको जीवनमा फरकफरक तीज देखिए, तर यस वर्ष सुनसान भयो । छोरी, नातिनीलाई बोलाएर एक छाक खुवाउन परै जावस् घरबाहिर पनि निस्कन नपाएको उनको भनाइ छ ।
बाल्यकाल, युवा र बूढो हुँदै जाँदा तीजको पारा फेरिँदै गएपनि सुनसानचाहिँ यही वर्ष भएको ढकाल बताउँछिन् । उनले भनिनु, ‘बाँच्यो भने अर्को वर्ष रमाइलो गरी तीज मनाउँला ।’ कोरोना रोगका कारण निषेधाज्ञा भएको र तीज मनाउन नपाएको उनलाई थाहा छ ।
तीजको दिन जिल्लाका शहरी र ग्रामीण क्षेत्र भरिभराउ हुन्थे । रंगीचंगी कपडामा बालिकादेखि वृद्धासम्म रमाउने गर्दथे । गाउँ र शहरका ठाउँठाउँमा टेण्ट लगाएर तीज गीतका कार्यक्रम गरिन्थ्यो । पाँच वर्षअघि निकै भड्काउ तीज हुन थालेपछि स्थानीय प्रशासनले नियन्त्रण गर्नुपरेको थियो । एक महिना अघिदेखि दरका नाममा भोज भतेर हुने गरेको थियो । संघस्थाहरुले स्थानीय प्रायोजक खोजेर महँगा पुरस्कार राखेर प्रतियोगिता गर्ने गर्दथे ।

स्थानीय संघस्थाहरुले तिजका कार्यक्रमहरु गर्थे रमाइलो हुन्थ्यो बिराटचौक को बिराटकला समूहले रास्ट्रीय स्तरको कलाकारहरु मगाएर सास्कृतिक कार्यक्रम गर्थे। हजारौ महिला दिदि बहिनिहरु रमाइलो गर्ने गर्थे। तर यसपाली त्यस्तो नभएको नेकपा सुन्दरहरैचा ९ न. वडाका शाखा कमिटिका सचिब चन्द्र ढकालले बताए ।
पुरस्कारको राशि पनि राम्रै भएको हुँदा सहभागी प्रतियोगी कलाकारहरुको उपस्थिति धेरै हुन्थ्यो स्थानीय बिना गुरुङले स्मरण ग । त्यतिबेला छिमेकका जिल्लाबाट पनि प्रतियोगी आउँथे । स्थानीय मकालु ,एरिना टेलिभिजनहरुले प्रतक्ष्य प्रसारण गर्थे ।
नगरपालिका उपप्रमुखसमेत रहेकी अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य धनादेवी तामाङ रोगको संक्रमणका कारण तीज मनाउन नपाएको बताउँछिन् । उनका अनुसार विगतका वर्षमा जिल्लाको मुख्य बजार बिराटचौकमा स्टेज बनाएर भव्य कार्यक्रम गरिन्थ्यो । वडादेखि नगर, क्षेत्र र ‘सम्भवतः जिल्लामा सबैभन्दा ठूलो सहभागिता हाम्रो हुन्थ्यो ।’
सासू, ससुरा र श्रीमानसँगै परिवारदेखि सरकारका काम कुरालाई गीतको भाकामा छेड हान्दै र प्रश्रय दिँदै आ–आफ्ना गीत महिलाहरुले गाउने गर्दथे । अखिल नेपाल महिला संघकि सुन्दरहरैचाकि नेतृ हिमा पोखरेल खनाल आफ्नो जीवनमा पहिलोपटक यस्तो तीजमा रमाउनुपरेको बताउँछिन् । रोगको संक्रमणको बाध्यता बुझेकै कारण जेजस्तो अवस्था छ त्यसैमा रमाउन उनले आग्रह गरिन् । विगतका तीजमा वडादेखि जिल्ला तहसम्मले गरेको रमाइलो सम्झँदै अहिले घरमै बसेर तीज मनाउनुको विकल्प नभएको उनले बताइन् ।
जिल्लाका स्थानीय तहमा निषेधाज्ञा जारी गरिएकाले घरबाट बाहिर निस्कन मिल्दैन । सबै घरघरमै बसेर तीज मनाइरहेका छन् । बुहारीहरुले सासूसँग र सासूले बुहारीसँग नाचेर यस वर्ष घरघरमा तीज मनाउनुपरेको छ । कोरोना भाइरसको संक्रमणका कारण वर्षदिनमा आउने महिलाहरुको ठूलो पर्व तीज खल्लो भएको छ । तैपनि रोगको संक्रमणका कारण सबैले भनेका छन्, ‘बाँचिबसे अर्को वर्षको तीज धुमधाम साथ मनाउँला ।
नजिक माइती भएपनि रोगको डरले छिमेकीले के भन्लान् भनेर धेरैले छोरी बोलाउन र जान आँट नगरेको बिराटचौककी सन्जु शाह काफ्लेले बताइन । हिँडडुलमा नै रोक लगाइएको छ । समूहमा उठबस गर्न सम्भव नै नहुने भएकाले राति दर खाएका महिलाहरु आज बिहानदेखि घरमै सामाजिक सञ्जालमा रमाएर यस वर्ष तीज मनाइरहेका छन् ।


