काठमाडौं, २० जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको जागरण अभियानमा नेतृत्वबीच विभिन्न आशंका र आरोप प्रत्यारोप तथा मतभेद चलिरहेका बेला उपसभापति विमलेन्द्र निधि पत्नी र छोराछोरीसहित प्रवासमा हुन लागेको कार्यक्रममा सहभागी हुन जान लागेको खलासा भएको छ ।

नेपाली जनसम्पर्क समितिले डेनमार्कको कोपनहेगनमा गर्न लागेको प्रशिक्षण कार्यक्रममा निधिसहित २५ केन्द्रीय नेताहरू जान लागेको तथ्य लिक भएको छ ।

असार ६ देखि ८ गतेसम्म हुने ३२ वटै देशमा रहेका समितिका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसहितका कार्यकर्तालाई दिन लागेको प्रशिक्षण कार्यक्रममा नेपालबाट नेपाली कांग्रेसका उपसभापति निधिले आफ्नो पूरै परिवारलाई लिएर जान लागेका हुन् ।

विदेशमा हुन लागेको कार्यक्रममा कांग्रेस नेताहरू परिवारसहित जान लागेपछि यसले खर्च बढाउनेछ । विदेशमा कार्यक्रमको व्यवस्थापन गर्न गाह्रो हुनेभन्दै कांग्रेसभित्रैबाट विरोध शुरू भएको छ ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक एवं उपसभापति निधिसहितका पदाधिकारी, केन्द्रीय नेता, प्रतिष्ठानका सदस्यसहितका नेता डेनमार्क जान लागेको स्रोतले जनाएको छ ।

प्रशिक्षणका लागि जान लागेका नेताहरूको भिसा आवेदन दिइसकिएको छ । श्रीमती र दुई छोरासहित जाँदै उपसभापति निधि डेनमार्क जान लागेका हुन् ।

पूरै कार्यक्रमको संयोजन डेनमार्कस्थित जनसम्पर्क समितिमा सभापति वीरेन्द्रसिंह कार्कीले गरेका छन् ।

कांग्रेसका उपसभापति निधि र महामन्त्री डा.शशांक कोइराला मात्रै गए पुग्ने कार्यक्रममा दुई दर्जन केन्द्रीय नेताहरू परिवारसहित डेनमार्क जान लागेको घटनाले कांग्रेस पार्टी आलोचित बनेको छ ।

डेनमार्क जाने सूचीमा उपसभापति विमलेन्द्र निधिका साथै दुई छोरा र श्रीमती रहेका छन् ।