काठमाडौं,२ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा फेरी तरंग उत्पन्न भएको छ ।
नेकपा स्थायी कमिटी बैठकमा सरकारले गत मंगलबार ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेपनि सो अध्यादेश फिर्ता हुनुपुर्व नै प्रधानमन्त्री ओलीले बैठक बोलाएपछि पुनः तरंग उत्पन्न भएको हो । यसैबीच ओलीले परिषद् बैठक बोलाएपछि नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड अहिले ओलीलाई भेट्न बालुवाटार गएका छन् । उनले ओलीले बैठक बोलाउनुको कारण र अध्यादेश फिर्ताका विषयमा थप छलफल गर्ने बुझिएको छ ।
अध्यादेश फिर्ता लिनलाई मन्त्रिपरिषद् बैठक बसेर अर्को अध्यादेश जारी गर्नुपर्ने हुन्छ । त्यसका लागि बिहीबार साँझको लागि मन्त्रिपरिषद् बैठक बोलाइएपनि त्यसअघि नै ओलीले संवैधानिक परिषद् बैठक बोलाएपछि नेकपामा फेरी तरंग उत्पन्न भएको हो ।


