काठमाडौं, २५ पुस । ललितपुरका स्थायी ठेगाना भएका उमेश केसी तीन महिना अघि अमेरिकाबाट नेपाल आएका थिए । उनी श्रीमती सुदीक्षा गिरीसँग टोखास्थित ग्रयाण्डी भिलामा भाडामा बस्थे । तीनदिन अघि सहोदर दाजु हिमेश केसीसँगको भेटमा हाँसीखुसी रहेका उमेशले शनिबार (आज, २५ पुस) परिवारका सदस्यहरुसँग रमाइलोको योजना बनाएका थिए ।
उनी १४ जनवरीमा अमेरिका उडने तयारीमा थिए । यसका लागि उनको टिकट समेत भइसकेको थियो । तर, शनिबार बिहान ३ बजे हिमेशलाई क्यानडाबाट आफन्तले फोन गरे– ‘बाबु उमेश र बुहारी त अस्पतालमा छन, कसैले उनीहरुलाई मार्यो, तिमी तुरुन्त पुग’ । युवा संघका नेता समेत रहेका हिमेश तुरुन्त अस्पताल पुगे ।
उमेश–सुदीक्षाको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । हिमेशले अमेरिका उडने तयारीमा रहेको भाईंको शव हेरे । शरिरभर निलोडाम र चोटपटक छ । ढाडमा चुप्पीले रोपेको दाग र शरिरभर रगत छ । बुहारी सुदीक्षाको शवको अवस्था भने घाँटी थिचेर मारेको जस्तो देखिन्छ ।
हिमेशले घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा सोधखोज गरे । प्रहरीले राती दुईबजे एकजना भान्जापर्ने र स्थानीय वडाध्यक्षको रोहबरमा शवको मुचुल्का उठाएको बतायो । उनले घटनास्थलको तस्वीर हेरे । ‘भाई खाँटमा सुतेको छ, बुहारी तल पासोमा झुण्डिएको देखिन्छ,’ हिमेशले तस्वीरको वर्णनन् गर्दै भने, ‘दुबैको शव गल्नेक्रममा रहेको छ, म सहोदर दाईलाई थाहै नदिइ रातारात किन शव उठाइयो? ।’ उनका अनुसार उमेशकाे शब धेरै नै गलेकाे छ भने बुहारीकाे शव ताजै अवस्थामा रहेकाे छ ।
उनका अनुसार उमेश–सुदीक्षाको सम्बन्ध समधुर थियो । दुबैसँगै बसेका थिए । भाइसँगको भेटमा पनि उसले त्यस्तो केही भएको भए बताउनु पर्ने उनको भनाई छ । महानगरीय प्रहरी वृत्तका प्रमुख डीएसपी रोशन खड्काले घटनामा श्रीमतीले श्रीमानको हत्यापछि आफुले आत्महत्या गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको बताए । उनले परिवारका भान्जा र दिदी तथा स्थानिय वडाध्यक्षको रोहबरमा शव उठाएको बताए ।
‘घटना परिवारको झगडापछि हत्या र आत्महत्या जस्तो देखिन्छ, घटना अघिल्लो रातको हुनुपर्छ (बिहीबार राती), डीएसपी खड्काले भने, ‘वृत्त र अपराध महाशाखाको टोली पुगेर शवको मुचुल्का उठाएका हौं ।’ उनले ढोका भित्रबाट बन्द रहेकाले तेस्रो ब्यक्तिको उपस्थितीको शंका नरहेको दाबी गरे उमेशका दाजु हिमेश भन्ने प्रहरी कथन मान्न तयार छैनन् ।
उनले आफु सहोदर दाजु र परिवारका मुख्य सदस्यहरुलाई खबर नै नगरी शव उठाउनु, घटना अनुसन्धानका लागि बिहानसम्म नपर्खेर हतार गर्नु अनि घटनास्थल अनुसन्धानका लागि उपलब्ध भएका प्रविधिको प्रयोग नहुनु सहितका कारणले यसमा शंका उत्पन्न भएको बताए । ‘बुहारीले उमेशलाई मारिन र आफुले आत्महत्या गरिन् भन्ने पत्याउनन् कठिन मात्रै होइन सकिदैन् पनि,’ हिमेशले पर्दाफाससँग भने, ‘यो केही दिनअघिको हत्या हुनुपर्छ, यसमा प्रहरीले बिस्तृत अनुसन्धान गर्नु पर्छ ।’


