काठमाडौं,१४ भदौ । एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल भारतको नयाँ दिल्लीमा लामो उपचारपछि स्वदेश फर्किएका छन् । उनले नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो मिर्गौला प्रत्यारोपण गराएका थिए ।

त्रिभुवन विमानस्थलमा खनाललाई पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले स्वागत गरे । त्यसक्रममा आयोजित पत्रकार सम्मेलनमा खनालको लिखित मन्तव्य पढेर सुनाइएको थियो ।मन्तव्यमा खनालले आफूले पुनर्जीवन पाएको बताएका छन् ।

नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट सरकार ढल्यो भनेर गोहीको आँशु बगाउनु आवश्यक नरहेको बताएका छन् ।

भारतमा उपचारपछि स्वदेश फर्किने क्रममा उनले पत्रकारसँग बोल्दै ओली नेतृत्वको सरकार बदनाम भएर आफैं ढलेको टिप्पणी गरे । खनालले भने, ‘म यहाँबाट जाँदा भारी मनले गएको थिएँ । त्यसबेला एकता आह्वान गरेको थिएँ । यो बीचमा कम्युनिष्ट पार्टीको सरकार ढल्यो । तर, यसमा कुनै गोहीको आँशु बगाउनुपर्ने आवश्इकता छैन । वामपन्थी र लोकतान्त्रिक शक्तिको गठवन्धन सरकार बनेको छ । यसलाई राम्रोसँग चलाउनुपर्छ ।’

खनालले नेकपा एमाले पार्टीका नशा-नशा र अंगअंगमा आफूहरूको पसिना र मेहनत रहेको बताए । अहिले अहंकारी गुटले नेतृत्व कब्जा गरेको र पार्टीमा चिरा परेको उनको भनाइ छ । उनले पार्टीमा ७० वर्षको मापदण्ड आफूले पालना गर्ने र अरुलाई पनि पालना गर्न आग्रह गरे ।

खनालले भने, ‘म उमेरले ७० वर्ष कटिसकेँ । मैले पार्टीमा कार्यकारी जिम्मेवारीको आशा लिएको छैन । पार्टीले मलाई के दिन्छ, के गर भन्छ, त्यसका लागि ठाउँ राखेको छु । तर, मेरो आफ्नो ठाउँबाट भने कार्यकारी पोष्ट माग गर्ने नैतिक अधिकार मलाई छैन ।’

उनले थपे, ‘(एमालेको) नवौं राष्ट्रिय महाधिवेशनमा जुन विधान निर्माण गरियो, त्यसमा सर्वसम्मतिले एउटा मापदण्ड पास गरेका थियौं । त्यो ७० वर्षको मापदण्ड पास गर्ने मुख्य नेता मै हुँ । त्यसमा हामी दृढतापूर्वक अडिनुपर्छ । अन्य नेताहरुलाई पनि त्यो मापदण्डलाई ध्यानमा राख्न आग्रह गर्छु ।’नेपाल प्रेसबाट