काठमाडौं,२२ भदौ । केही दिन पहिले नेकपा एमाले छाडेका सो पार्टीका उपाध्यक्ष बामदेव गौतम एमालेबाट विभाजन भएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जोडिने भएका छन्। गत शुक्रबार गौतमले एमाले उपाध्यक्षसहित सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गर्दै पार्टी केन्द्रीय कार्यालय थापाथलीमा राजीनामा–पत्र बुझाएका थिए। राजीनामापछि मौन बसेका गौतम केही दिनभित्रै एकीकृत समाजवादीमा खुल्ने तयारीमा छन्।
‘वामदेव कमरेडले एकीकृत समाजवादीमा खुल्ने भनेरै एमालेबाट राजीनामा दिनु भएको हो। उहाँलाई वरिष्ठ उपाध्यक्ष बनाउने भन्ने मोटामोटी सहमति भइसकेको छ’, एकीकृत समाजवादीका एक शीर्ष नेताले भने, ‘वामदेव कमरेड अहिले एकता अभियानमा लागेका साथीहरुसँग परामर्श गरिरहनु भएको छ। त्यहाँ जोडिएका सबै साथीहरुलाई समेटेर कुन-कुन भूमिकामा राख्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहनु भएको छ।’




















