काठमाडौं २० फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई देखाएर सत्तागठबन्धन फुटबाट बचाएका र सत्तागठबन्धनका शीर्ष नेतालाई घुडा टेकाउन प्रधानमन्त्री शेर बहादुर देउवा सफल भए ।

र उनी नेतृत्वको सरकारले अन्ततः अमेरिकी सहयोग परियोजना एमसीसी पास गरेरै छाड्यो । देउवा सरकारले विगत ६ महिनायता जारी रहँदै आएको संसद्को अवरोध खोल्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको संवादलाई सशक्त रूपमा अघि बढाउने भएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध चार दलहरूको बैठकले संसद्को अवरोध खोल्ने विषयमा प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गर्दै संवादलाई पनि सशक्त रूपमा अघि बढाउने निर्णय गरेको हो ।

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको २३ फागुनमा ६ महिना पुग्दै छ । २३ भदौबाट एमालेले संसद् अवरुद्ध गर्दै आइरहेको छ । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन बैठकले संसद्को अवरोध खोल्ने विषयमा प्रतिपक्षी दल एमालेसँग आग्रह गर्ने र संवादलाई सशक्त रूपमा अघि बढाउने निर्णय गरेको जानकारी दिए ।

‘संसद्को अवरोध लामो समयसम्म हुँदा संसद्’दयगत जनतामा नकारात्मक धारणा बन्न सक्छ, बैठकले प्रमुख प्रतिपक्षी दललाई सदन सञ्चालन गरेर पर्याप्त छलफल गर्ने वातावरण बनाउन आग्रह गरेको छ, त्यसका लागि एमालेसँगको वार्तालाई पनि सशक्त ढंगले अघि बढाउने बैठकको निर्णय छ,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग संसद्को अवरोध खोल्ने विषयमा संवाद गर्दै आइरहेका छन् । उनले केही दिनमा नै फेरि ओलीसँग संवाद गर्ने तयारी गरिरहेका छन् । यसअघि पनि प्रधानमन्त्री देउवाले तीनपटक पूर्वप्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष ओलीसँग ‘वान टु वान वार्ता’ गरेका थिए ।

दुईपटक प्रधानमन्त्री देउवा ओलीको निवास बालकोट नै गइसकेका छन् । संसद्को अवरोध खोल्ने विषयमा सञ्चारमन्त्री कार्कीसहित गृहमन्त्री बालकृष्ण खाँणलेसमेत ओलीसँग प्रधानमन्त्रीको दूतका रूपमा वार्ता गर्दै आइरहेका छन् ।

उनीहरूले एमालेका दोस्रा तहका नेताहरूसँगको संवादलाईसमेत जारी राख्दै आइरहेका छन् । सरकारले स्थानीय तहको निर्वाचनअघि नै संसद्को अवरोध अन्त्य गर्न चाहेको छ । यस्तै, संवैधानिक व्यवस्थाअनुसार १५ जेठमा बजेट ल्याउनुपर्ने बाध्यताका कारणसमेत सरकारमाथि प्रतिपक्षी एमालेलाई मनाउनैपर्ने दबाब छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट पारित गर्न सहयोग गरेकोमा दलहरूलाई धन्यवादसमेत दएका थिए ।

सो क्रममा प्रधानमन्त्री देउवाले राजनीतिक दलका शीर्ष नेतृत्वलाई एमसीसी समयमै सक्न पनि एकजुट भएर सहयोग गर्न आग्रह गरे । सत्तारूढ गठबन्धनले चुनावी तालमेलका लागि पहिले चुनावी तालमेल’दयगत पहिले दलमै छलफल आआफ्ना दलभित्र छलफल गरेर निर्णय लिने भएका छन् ।

पाथिभरा न्युज बाट