विराटनगर,२७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छाडेर गएकाहरूलाई पार्टीमा स्वागत गर्ने चलन नरहेको बताए ।
विराटनगरमा पत्रकारसँगको कुराकानीमा शुक्रबार उनले कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक नभए पनि स्वागत गर्न चलन भने नभएको बताएका हुन् ।
उनले भने, कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं । पार्टी छाडेर गएकाहरू पार्टी प्रवेश गर्न सक्नु हुन्छ तर स्वागत गर्ने चलन छैन ।
यसअघि विराटनगरमा आयोजित कार्यक्रममा असार १७ गते सत्ता गठबन्धनबारे गरेको भविष्यवाणीको समयअघि नै लक्षण देखिन थालेको अध्यक्ष ओलीले बताए ।
पार्टीले निकालेका मन्त्रीलाई प्रधानमन्त्रीले कायम राखे पनि पार्टी निरीह भएर हेरेको हेर्यै छ, उनले भने, ‘पार्टीले मन्त्री निकाल्यो तर निक्लिएनन् । पार्टीको हालत यस्तो भइसक्यो ।
स्थानीय तहको परिणाममा सिट संख्याको हिसाबले एमाले दोस्रो भए पनि लोकप्रिय मत प्राप्त भएकोबाट एमाले एमाले नै रहने ओलीको भनाइ थियो ।
६ दल मिलेस कुनै सिद्धान्त‚ विचार रहेन जसरी भए पनि एमालेलाई हराउने एक मात्र सर्त रह्यो, उनले भने, थोरै मतले सिट संख्याका आधारमा दोस्रो भयौं तर लोकप्रिय भोटमा एमाले अगाडि नै छ । उनले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा देशवासीले अत्यधिक मतका साथ एमालेलाई जिताउने विश्वास व्यक्त गरे ।
त्यसैगरि ओलीले गठबन्धन नहुँदा धुलोपिठो हुने भएकाले अहिले नै गठबन्धन नटुट्ने देखिएको बताएका छन् । गठबन्धन टुटाउन बल गर्नुपर्यो भनेर हल्ला चलेपनि एक्लै चुनावमा जाँदा धुलोपिठो हुने डरले उनीहरू गठबन्धन टुटाउन नचाहने ओलीले बताए ।
नेकपा एमाले विराटनगरले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफूलाई साँढे र अरूलाई बाख्रासँग तुलना गरेका छन् । ‘साढेसँग लड्न सक्दिन भनेर उनीहरूले गठबन्धन गरेका हुन्,’ ओलीले भने,‘गठबन्धनमै रहेका केहि दलहरुको हैसियत बाख्रा सँग लड्न सक्ने खालको छ ।’
भर्खरै सकिएको स्थानीय तहको चुनावमा एमालेको सबैको भन्दा मत राम्रो आएको समेत उनले दावी गरे । ‘कांग्रेसको भन्दा एमालेको बढी छ,’ उनले भने,‘अरुको त हिसाब गर्नैपर्दैन । कांग्रेसको पनि गाँसगाँस जोडेर मात्रै त्यति भोट आएको हो ।
ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै आफ्नो हैसियत हेरेर मात्रै अरुको हैसियत नाप्न सुझाव दिए । ‘कांग्रेसले घमन्ड नगरोस् नत्र एमालेकै हालत बनाइदिउँला भनेर एक जना नेताले भाषण गरेछन्,’उनले भने,‘ती नेताको हाइट कतिको छ भनेर हेरेको त घुँडा घुँडा मात्रै रहेछ ।’



















