काठमाडौ,३ असार । माधव नेपालले गठन गर्नुभएको नेकपा एकीकृत समाजवादी पार्टीका वाग्मती प्रदेश सदस्य श्यामकृष्ण श्रेष्ठ एमालेमा नै फर्कनु भएको छ ।

माधव नेपालको पार्टीका वन तथा वातावरण विभागको सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) केन्द्रीय समितिका कोषाध्यक्ष समेत रहनुभएका श्रेष्ठ सहितका नेताले शुक्रबार एक विज्ञप्ति जारी गरी एमालेमा नै फकिएको बताउनुभएको छ । श्रेष्ठ गएको स्थानीय तह निर्वाचनमा रामेछापको खाँडादेवी गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीको तर्फबाट चुनाव लड्नु भएको थियो ।

श्रेष्ठ लगायतले जारी गर्नुभएको विज्ञप्तिमा आज पनि नेपालको ठुलो जनमत वामपन्थीको पक्षमा रहेको तथ्य हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट समेत प्रष्ट भएको उल्लेख छ । कम्युनिष्ट पार्टी विभाजनको परिणाम जनमतमा बहुमत हुँदा पनि नेपालको राज्यसत्ता गैर कम्युनिष्टको पक्षमा गएको उहाँहरूले बताउनुभएको छ ।

कम्युनिष्ट शक्तिहरू राष्ट्रियता, जनजीविका र आर्थिक समृद्धिको सवालमा पनि फरक फरक कित्तामा उभिनु र दक्षिणपन्थीलाई नै फाइदा हुने गरी गठबन्धनको राप अलापी रहनु दुःखद कुरा भएको उहाँहरूको निष्कर्ष छ । ‘नेपाली जनताले सुदृढ कम्युनिष्ट एकता मार्फत सबल राष्ट्रियता, तीव्रतर दिगो विकास, आर्थिक समृद्धि र सामाजिक रूपान्तरण खोजेको छ, यसको अगुवाइ देशको सबै भन्दा ठुलो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सबादी लेलिनवादी) को नेतत्वले लिनु पर्छ र संभब छ भन्ने हाम्रो दृढ विश्वास छ’, उहाँहरूले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

क्षणिक व्यक्तिगत स्वार्थ, तिक्तता, अहंकार, कुण्ठा र असमझदारी त्यागेर अनुशासित, सुदृढ र राष्ट्रिय अभिभारा पूरा गर्न सक्ने पार्टी निर्माणमा योगदान गर्न आह्वान गर्दै आफूहरू एमालेमा समाहित भएको उहाँहरूले बताउनुभएको छ । उहाँहरूले आफ्नै रगत पसिनाले निर्माण गरेको जनताको प्यारो पार्टी नेकपा एमालेमा समाहित हुन एकीकृत समाजवादी) का नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

श्रेष्ठसँगै सो पार्टीका रामेछाप जिल्ला उपसचिव तिलक कार्की जिल्ला कमिटी सचिवालय सदस्य चेतबहादुर मगर, प्रेम कृष्ण श्रेष्ठ, मिना दाहाल तथा जिल्ला कमिटी रामेछापका सदस्य रमेश घिसिङ लगायतका नेता कार्यकर्ता एमालेमा फर्कनु भएको छ ।