काठमाडौं,४ असार । स्थानीय निर्वाचनको परिणामले झस्किएको नेकपा एमाले सबै विकल्पमा गएर भएपनि बाम गठबन्धन बनाउन लाइरहेको छ । बाहिर निकै कटु देखिएपनि एमाले र माओवादीका नेताहरूको भित्रि भेट निकै बाक्लिएको छ । एमालेका नेताहरू विभिन्न विकल्पमा प्रस्ताव तयार पारेर माओवादीका नेताहरूलाई भेटिरहेका छन् ।

यसैका लागि एमाले उपाध्यक्ष विष्णु पौडेल शुक्रबार सुटुक्क माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमै पुगे । पौडेलले प्रचण्डसँग भेटघाटमा विभिन्न विकल्पमा जान सकिने भन्दै एमाले अध्यक्ष ओलीसँग ‘वान टु वान’को प्रस्ताव गरे।

बाहिर दुई पार्टीबीच पानी बाराबारको अवस्था देखिए पनि उनीहरुबीच निरन्तर छलफल चलिरहेको स्रोतले बताउने गरेको छ । नेपाली कांग्रेस र एमाले दुवैका लागि चुनावी तालमेलमा माओवादी निर्णायक शक्तिका रुपमा देखा परे पनि संघीय संसदको निर्वाचनमा कोसँग गठबन्धन हुन्छ भन्ने अझै एकिन भैसकेको छैन ।

अहिले एमाले र माओवादीका नेताहरुबीच यति धेरै वार्ता र संवादहरु भैरहेका छन् कि त्यति भेट र संवाद गठबन्धनमै भएको कांग्रेससँग भएको छैन । एमाले र माओवादीका नेताहरू एक आपसमा कम्युनिष्ट शक्ति मिल्नु पर्ने आवश्यकता बारेमा छलफल गरेका छन् ।

अहिलेको सत्ता गठबन्धन कायमै रहे आगामी मंसिरमा हुने संघ तथा प्रदेश चुनावमा एमाले कमजोर हुन सक्ने आंकलनपछि एमाले नेताहरू माओवादी नेताहरूसँग भित्रभित्रै लबिङमा छन् ।

औपचारिक रुपमा यी दुई पार्टीका नेताहरूले वाम तालमेलका बारेमा छलफल गरे पनि नेताहरूका तहमा प्रारम्भिक छलफल शुरु भएको छ । त्यही क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले दोस्रो रणनीतिमा जुटेको एमाले उच्च स्रोतको भनाइ छ ।

एमालेले विभिन्न च्यानलमार्फत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसमेतलाई अनेक तरहबाट विभिन्न सन्देश दिइरहेका छन् ।

पौडेलले बिहीबार साँझ प्रचण्डसँग भेटघाट गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गराउने प्रयास थालिएको छ । भेटपछि नेता पौडेलले ओली र प्रचण्डबीच छिट्टै भेट हुने आफू निकट नेताहरूलाई बताएका छन् ।

माओवादी नेता नारायणकाजी श्रेष्ठ लगातार ओलीसँग संवादमा छन् । एकै सातामा ओली र श्रेष्ठबीच कैयौं भेट भैसकेको स्रोत बताउँछ । त्यस्तै एमाले उपमहासचिव प्रदीप ज्ञावाली र माओवादी नेता वर्षमान पुनबीच भेटघाट भएको थियो ।

अन्य नेताहरूको पनि बाक्लो भेट भैरहेको तर श्रेष्ठले ओलीलाई भेटेको बाहेक अन्य नेताहरुबीच भएको भेटघाट पनि गोप्य राखिएको छ । माओवादी अध्यक्ष प्रचण्ड शुक्रबार चितवन पुगेका थिए ।

उनी भेटघाटकै लागि भनेर चाँडै नै काठमाडौं आए पनि ओलीसँगको भेटघाटको साइत जुरेन । शुक्रबार अबेरसम्म ओली र प्रचण्ड भेट गराउने कोसिस भएको भए पनि त्यसले मूर्त रुप लिएको छैन ।

स्थानीय तहको निर्वाचनपछि एमाले र माओवादीका युवा नेताहरुले वाम गठबन्धनलाई जोड दिँदै आएका छन् । उनीहरुले सकेसम्म सीट बाँडफाँड गरेर जाने नसके पनि जित्ने स्थानमा एक अर्कालाई सहयोग गरेर जाने नीति अख्तियार गर्न खोजेको स्रोतको दा’बी छ ।