काठमाडौं, ४ असार । काठमाडौंको माइतीघर मण्डलामा गुठी विधेयक फिर्ता होइन, खारेजीको माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।
गुठी विधेयकविरुद्धको विरोध प्रदर्शनमा व्यापक जनसहभागिता देखिएको छ । विरुद्धको प्रदर्शनका कारण अहिले थापाथली, त्रिपुरेश्वर, माइतीघर मण्डलालगायतका स्थानको सवारी आवागमन प्रभावित बन्न पुगेको छ ।
राष्ट्रियसभामा प्रस्तुत विधेयकको चौतर्फी विरोधपछि भूमि व्यवस्थामन्त्री मन्त्री पद्या अर्यालले मंगलबार फिर्ता लिएको घोषणा गरेकी थिइन् । सरोकारवालासँगको छलफलपछि यसलाई अघि बढाउने उनको भनाइ थियो ।
तर, गुठीविधयेकको विपक्षमा रहेकाहरुले सरकारले विधेयक फिर्ताको घोषणा गरे पनि आन्दोलन रोकेका छैनन् । उनीहरुले गुठी विधेयक संविधानको मर्म र भावना विपरीत रहेको बताउँदै खारेजी नै गरिनु पर्ने माग राखेका छन् । प्रदर्शनकारीले गुठीसम्बन्धी विधेयक त्रुटिपूर्ण भएकाले खारेज हुनुपर्ने माग राखेका छन् । यही माग राखेर राजधानीको माइतीघर मण्डलामा खबरदारी सभा आयोजना गरिएको हो ।
खबरदारीसभा अघि ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’ लगायतका प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले उपत्यकामा र्याली समेत निकालेका थिए । त्रिपुरेश्वर, थापाथली हुँदै अघि बढेको र्याली माइतीघर मण्डलामा आयोजित खबरदारी सभामा मिसिएको हो । केहिछिनमा गुठी विधेयकका विषयमा प्रदर्शनका अगुवाहरुले बोल्ने कार्यक्रम रहेको छ ।


