काठमाण्डौ १३ भदौ । नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य मुकुन्द न्यौपानेले आसन्न संघीय निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धन नबने एमाले पहिलो र कांग्रेस दोस्रो पार्टी बन्ने विष्लेषण गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार एक कार्यक्रममा कांग्रेससँग गठबन्धन तोडिन सक्ने र एमाले बाहेक वाम एकता हुन सक्ने अभिव्यक्ति दिएपछि न्यौपानेले सोमबार एक स्टाटस लेख्दै त्यसो भए एमाले पहिलो बन्ने र सरकार एमालेको हुने जिकिर गरेका हुन् ।

उनले एमाले बाहेक बन्ने वाम–गठबन्धनले धेरै स्थानमा सिट गुमाउने पनि स्टाटसमा उल्लेख गरेका छन् ।

न्यौपानेले काग्रेससँग अलग भएर एमाले बाहेकको वामपन्थी गठबन्धन बनाउछौँ भन्नु भड्खालामा जाकिनु रहेको पनि बताएका छन् ।

उनले लेखेका छन्
कांग्रेसबाट अलग भएर बन्ने एमाले बाहेकको गठबन्धनको हालत । कांग्रेससँग अलग भएर एमाले बाहेकको वामपन्थी गठबन्धन बनाउछौँ भन्नु भड्खालामा जाकिनु हो । कांग्रेस एकातिर एमाले अर्कोतिर भएर बाकीँ वामपन्थी चुनावमा जाने हो भने मेरो विष्लेषणमा एमाले पहिलो पार्टी हुन्छ । एमाले बाहेकको वामपन्थी गठबन्धनले धेरै ठाउँमा सिट गुमाउँछ । कांग्रेस दोस्रो पोजिसनमा आउँछ र सरकार एमालेले बनाउँछ ।