काठमाडौं,१९ मंसिर  । नेकपा एमाले दोलखाका सचिव हिरा थोकरले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । 

प्रतिनिधि सभा निर्वाचनमा एमाले दोलखाका उम्मेदवार पराजय भएसँगै उहाँले पदबाट राजीनामा दिनुभएको हो । ‘प्रतिनिधि सभा निर्वाचन २०७९ मा नेकपा एमाले दोलखाको पराजयमा नैतिक जिम्मेवारी लिँदै नेकपा एमाले जिल्ला कमिटी दोलखाको सचिवबाट राजीनामाको घोषणा गरेको हुँ’, थोकरले भन्नुभयो । 

दोलखामा प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका गंगा कार्की झिनो मतान्तरले विजयी हुनुभएको छ । कार्कीले एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीलाई ३ सय १८ मतान्तरले पराजित गर्नुभएको छ । कार्कीले ३६ हजार ७ सय ९५ मत ल्याउँदा सिवाकोटीले ३६ हजार ४ सय ७७ मत पाउनुभएको छ । 

दोलखका बैतेश्वर, तामाकोसी, सैलुङ लगायतका गाउँपालिकाका विभिन्न मतदान केन्द्रमा गठबन्धनका कार्यकर्ताले मङ्सिर ४ गतेको निर्वाचनमा बुथ कब्जा गरेर मत खसाले पछि नेकपा एमालेले त्यसको विरुद्ध उजुर गरेको थियो । बैतेश्वर र तामाकोसीका १० वटा मतदान केन्द्रमा निर्वाचन आयोगले पुनः निर्वाचन गराएको भए पनि अन्य मतदान केन्द्रमा मङ्सिर ४ कै निर्वाचनलाई मान्यता दिएको थियो । 

दोलखामा प्रदेश सभा १ मा गठबन्धनबाट चुनाव लड्नु भएका नेपाली कांग्रेसका कुन्दन काफ्ले निर्वाचित हुनुभएको छ । उहाँले एमालेका नरबहादुर श्रेष्ठलाई पराजित गर्दै विजय प्राप्त गर्नुभएको थियो । बुथ कब्जा गर्न काफ्ले आफैँ खट्नु भएका एमाले लगायतका राजनीतिक दलको आरोप छ । 

प्रदेश सभा २ बाट भने नेकपा एमालेका भरतबहादुर केसी निर्वाचित हुनुभएको छ । केसी नेपाली कांग्रेसका उम्मेदवार बर्मा लामालाई पराजित गर्दै प्रदेश सभा सदस्य बन्नुभएको हो ।