काठमाडौं,११ माघ । अब बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले पेट्रोल पम्पहरूलाई बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
एक सूचना जारी गर्दै प्रहरी परिसरले केही पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किन लगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण भएको जनाएको छ ।
‘पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपामा बिक्री वितरण गरेको पाइए प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुनेछ,’ सूचनामा भनिएको छ ।
पेट्रोल छर्किएर आत्मदहको घटना बढिरहेका बेला प्रहरीले सार्वजनिक सूचना जारी गर्दै पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किनलगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण भएको बताएको हो ।
संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । १८ मंसिरमा बुद्धनगरकी पुष्पा न्यौपानेले पनि आफैंलाई पेट्रोल छर्किएर आत्मदह गरेकी थिइन् । हालै सिभिल मल अगाडि पनि एक युवकले आफैंलाई जलाएका थिए ।




















