धरान,१५ माघ । शनिवार साँझ धनकुटा महोत्सवमा भागदौडमा परि घाइते भएका मध्ये १६ जनाको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। धरान ल्याइएका दुई बालकलाई आइसियुमा राखेर उपचार गर्नु पर्ने देखिएपछि विराटनगर पठाइएको अस्थायी प्रहरी चौकी बिपी प्रतिष्ठानले जनाएको छ ।

घाइतेहरू मध्ये छ जना बालबालिका रहेका छन् । उनीहरू सबैको अनुहारमा चोट देखिएको प्रहरीले जानकारी दिएको छ। बिपी प्रतिष्ठानमा उपचाररत घाइतेहरूको अवस्था सामान्य रहेको समेत प्रहरीले जानकारी दिएको छ। सामान्य चोट लागेका केही बिरामीको डिस्चार्ज भइसकेको छ।

धनकुटामा गत माघ ६ गतेबाट चलेको महोत्सवमा शनिवार साँझ गायक प्रमोद खरेलको साँङ्गीतीक प्रस्तुति राखिएको थियो । उक्त सो हेर्न पुगेका दर्शकको भिड नियन्त्रण भन्दा बाहिर गएपछि भागदौड मच्चिएको थियो । भागदौडमा परि ३० जना घाइते भएका छन् ।

ती मध्ये १६ जनालाई बिपी प्रतिष्ठान ल्याइएको छ। दुई जना बालकलाई विराटनगर पठाइएको छ । बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ । अप्रिय घटना घटेपछि महोत्सव पनि स्थगित भएको छ।