काठमाडौं,२० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन्। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटनमा उनले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले भने, ‘जुगल गाउँपालिकाका आदरणीय जनसमुदायका लागि यो कार्यक्रम खुसी र गौरवको कुरा हो। विद्यालय निर्माणका निम्ति मेरो भूमिका छ। म नेपाल सरकार एवं मेरोतर्फबाट चीन सरकार र चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।’ विनाशकारी भूकम्पपछिको पुनः निर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको उनले स्मरण गरे। चीन सरकारले भौतिक पूर्वाधार र शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा महत्त्वपूर्ण काम गरेको उनको भनाइ छ।
नेपाली जनताको समृद्धि र सुशासनको आकांक्षामा चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा रहेको उनले बताए। ‘सिन्धुपाल्चोकका जनताका पीडामा सहभागी हुने अवसर मिल्दै आएको छ। दुःख र सुखीमा म तपाईंहरूको साथमा छु,’ प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘जुरेको पहिरो, भूकम्पपछिको पुनः निर्माण, मेलम्चीको विनाश लगायतका सबै पीडामा तपाईंहरुसँग ऐक्यबद्ध भएर काम गर्न पाउँदा खुसीको महसुस गरेको छ।’
उनले मुलुकको अर्थतन्त्रमा केही गम्भीर समस्या भएको भन्दै मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको बताए। ‘निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु। बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको छ। अर्थतन्त्रमा सुधार आउने आधार देखिएका छन्। अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ,’ उनले विश्वास व्यक्त गरे।
उनले प्रतिनिधिसभामा आफूलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त भएको भन्दै यो ठूलो जिम्मेवारी र चुनौती भएको बताए। ‘विकास, सुशासन र समृद्धिको चुनौती एक्लै पूरा गर्न सकिँदैन। आम जनसमुदाय र छिमेकीको सहयोगबाट मात्र हामीले त्यो चुनौती छिचोल्न सक्छौं। नेपालको विकासमा भारत र चीन सरकारबाट महत्त्वपूर्ण सहयोग रहनेछ,’ उनले भने।
शिक्षा क्षेत्रमा ठीक ढंगले लगानी गरेर मात्र विकास र समृद्धिको जग बसाल्न सकिने प्रधानमन्त्रीको भनाइ छ। उनले समतामूलक समाज निर्माणको आधार नै शिक्षा भएको उल्लेख गरे। ‘शिक्षालाई प्राथमिकता नदिईकन हामीले समाजवादको आधार तयार पार्न सक्दैनौं। शिक्षाको गुणस्तरले मात्र सुशासन, सभ्यता, संस्कृति र विकासको आधार तयार पार्दछ। तसर्थ, शिक्षा नै महत्त्वपूर्ण क्षेत्र हो,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधारका साथै शिक्षाको गुणस्तर महत्त्वपूर्ण भएको भन्दै यसका लागि शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य र सम्बन्ध जरुरी रहेको बताए। कार्यक्रममा प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्गलगायतले सम्बोधन गरेका थिए।




















