काठमाडौं,२० वैशाख । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बैशाख २८ गतेबाट झापामा हुँदै छ । बैशाख २८ गते उद्घाटन हुने केन्द्रिय कमिटी बैठकको बन्द सत्र बैशाख २९ र ३० गते हुने छ । बैशाख ३१ गते केन्द्रीय कमिटी सदस्यहरूलाई झापा, मोरङ र इलामका केही पर्यटकीय स्थानको समेत भ्रमण गराउने कार्य तालिका बनेको छ ।
नेकपा एमाले खुल्ला राजनीतिमा आएपछि झापाले पहिलो पटक केन्द्रीय कमिटी बैठक आयोजना गर्ने मौका पाएको छ । त्यसैले पार्टी केन्द्रीय कमिटी बैठकलाई भव्य बनाउन झापा एमालेका नेताहरू जुटेका छन् । ‘हाम्रो लागि यो सुनौलो अवसर हो, पार्टी खुल्ला राजनीतिमा आएपछि पहिलो पटक झापामा एमाले केन्द्रीय कमिटी बैठक हुँदै छ, हामी बैठकलाई भव्य बनाउँछौँ’, एमाले कोसी प्रदेश कमिटी सदस्य तथा कोसी प्रदेश सभा सदस्य होमबहादुर थापाले सनराइज खबरलाई भन्नुभयो ।
केन्द्रीय कमिटी बैठकलाई सफल बनाउन एमाले झापा जिल्ला कमिटीले विभिन्न उपसमिति बनाएर कार्य विभाजन गरेको छ । आठ वटा उपसमितिहरू आफ्नो काममा जुटिसकेका छन् ।
थापाका अनुसार केन्द्रीय कमिटीले हालसम्म गरेका कामको पार्टी सदस्यलाई जानकारी दिन र पार्टीको धारणा बताउन बैशाख २८ गते उद्घाटन सभा राखिएको छ। उद्घाटन सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटन समारोह दमकको पशु बजारमा हुने छ भने बैठकको बन्द सत्र बैशाख २९ र ३० गते कस्मिक पार्टी प्यालेसमा हुने भएको छ ।
उद्घाटन सभामा झापा र झापासँग जोडिएका मोरङ, सुनसरी, इलाम लगायतका क्षेत्रका पार्टी सदस्यलाई सहभागी गराउने कार्यक्रम रहेको थापाले बताउनुभयो । बिहान आएर कार्यक्रममा सहभागी भई बेलुका घर फर्कन भ्याउने पार्टी सदस्यलाई कार्यक्रममा सहभागी हुन आमन्त्रण गरिएको उहाँले जानकारी दिनुभयो ।
पार्टी बैठकमा सहभागी हुने नेताहरूलाई दमकका होटेलमा बासको प्रबन्ध मिलाइने भएको छ । होटेलमा नअट्ने अवस्था भएमा पार्टी सदस्यको घरमा समेत बस्ने व्यवस्था मिलाईने थापाले बताउनुभयो ।
बन्द सत्र सकिएपछि बैशाख ३१ गते केन्द्रीय नेताहरूलाई झापाको सुखानी पार्क, नेपालकै सबैभन्दा होचो स्थान कचनाकवल, इलामा र मोरङका केही पर्यटकीय स्थलको समेत भ्रमण गराउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । ‘हामी यो केन्द्रीय कमिटी बैठकलाई यस क्षेत्रको पर्यटन प्रवर्धनको अवसरका रूपमा पनि उपयोग गर्ने छौँ’, थापाले भन्नुभयो ।
झापा एमाले अध्यक्ष केपी शर्मा ओली हुर्किएको ठाउँ हो । कोसी प्रदेशको तेह्रथुम उहाँको जन्मथलो पनि हो । पार्टी अध्यक्ष जन्मिएको प्रदेश र उहाँकै निर्वाचन क्षेत्रमा यस पटक एमालेले केन्द्रीय कमिटी बैठक राख्दै छ । यस अर्थमा पनि एमाले र झापा जिल्लाको लागि यो बैठक महत्त्वको छ ।
केही दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओली झापा हुँदै आफ्नो जन्मथलो तेह्रथुमको आठराईसम्मको भ्रमणमा जाने क्रम कोसी प्रदेश नामाकरणको विरुद्ध ठाउँ ठाउँमा आक्रमणको प्रयास भएको थियो । यसलाई पार्टीले गम्भीर रूपमा लिएको थापा बताउनुहुन्छ । अब कुनै पनि राजनीतिक दल, समूह वा व्यक्तिले त्यो गल्ती नदोहर्याउने थापाको विश्वास छ ।
लोकतन्त्रमा शान्तिपूर्ण विरोध गर्न सबैलाई छुट भए पनि कोसी प्रदेशको नामाकरणको विरोध गरेर एमालेका विरुद्ध नारा जुलुश गर्नुको कुनै अर्थ नरहेको उहाँले प्रष्ट पार्नुभयो । प्रदेश सभामा ९० प्रतिशत बढी प्रदेश सभा सदस्यले कोसी प्रदेशको पक्षमा मतदान गरेकोले त्यसको जस, अपजस त्यसमा मतदान गर्ने सबै राजनीतिक दल र प्रदेश सभा सदस्यलाई जाने कोसी प्रदेश सभा सदस्य समेत रहनुभएका थापाले बताउनुभयो ।
यो यथार्थलाई बुझेर अब कसैले पनि एमाले र पार्टी अध्यक्षको विरोध नगर्ने उहाँको विश्वास छ । भौतिक आक्रमणको कुरा त लोकतन्त्रमा कल्पना नै गर्न नसकिने उहाँले बताउनुभयो । फेरी पनि कसैले अब एमाले र एमालेका नेताहरू माथि आक्रमणको प्रयास गरेमा एमालेले नछाड्ने उहाँले चेतावनी दिनुभयो । सनराइज खबरबाट




















