काठमाडौं,२५ असार  । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आर्जु देउवाको पनि संलग्नता रहेको देखिएकाे छ । 

प्रहरी प्रधान कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी सन्देश शर्माले आर्जु राणाको नाम लिएर सार्वजनिक भएको अडियो उहाँकै भएको प्रतिवेदन सार्वजनिक  गरेको छ । अडियोमा बोल्ने व्यक्ति सन्देश शर्मा नै भएको प्रहरी प्रहरी प्रधान कार्यालयले जनाएको छ । ‘आर्जु राणा देउवाले सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक अडियाेका सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय, साइवर ब्यूरो भोटाहिटीमा मिति २०८०।०१।०२ गते प्राप्त निवेदनका हकमा परीक्षण गर्दा Speakers Identification Traits match भनी उल्लेख भएको जुन स्वर जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुल्सीपुर उपमहानगर पालिका १६ दाङ घर भएका वर्ष ३४ को सन्देश शर्माको Control Sample सँग मेल खाएको’, प्रहरी प्रतिवेदनमा लेखिएको छ । 

कहाँ र कसबाट अर्गनाइज भएको भन्ने सम्बन्धमा टिकटक सिंगापुरलाई पत्राचार भएकोमा थप विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ । सन्देश शर्माको सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट ठगी तथा संगठित अपराध कसुर मुद्दा चली जिल्ला अदालतमा कारबाहीको क्रममा रहेकोले सन्देश शर्मासँग सम्बन्धित थप विवरण अदालतबाट उपलब्ध हुने प्रहरी प्रतिवेदनमा उल्लेख छ । 

यसअघि आर्जु देउवाले गत बैशाख २ गते सो प्रकरणमा आफ्नो नाम जोडिएपछि छानबिनको लागि साइबर ब्युरोमा उजुरी दिनुभएको थियो । सन्देश शर्माको आवाज रहेको सो भिडियोमा आर्जुलाई पनि पैसा दिइएको बताइएको थियो । आर्जुले त्यसको खण्डन गर्दै छानबिनको लागि प्रहरीको साइबर ब्युरोमा उजुरी दिनुभएको थियो ।  सन्देश शर्मा नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल पुर्पक्षका लागि थुनामा छन् ।