काठमाडौँ,१ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वगृहमन्त्री तथा पार्टी केन्द्रीय सदस्य बालकृष्ण खाणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्न अस्वीकार गरेका छन् ।

देउवा निवास धुम्बाराहीमा मंगलबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बसेको पार्टी पदाधिकारी बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाणलाई केन्दीय सदस्यबाट निलम्बन गर्ने प्रस्ताव केन्द्रीय समितिमा लैजानु पर्ने प्रस्ताव आएको थियो ।

उपसभापति तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले खाणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने प्रस्ताव केन्द्रीय समितिमा लैजान प्रस्ताव गरेका थिए । तर, देउवाले पार्टीको परम्परा हेरेर निर्णय गर्नुपर्ने भन्दै निलम्बनको प्रस्ताव लैजान अस्वीकार गरेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री खाणलाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाएको छ । खाण देउवा गुटका शक्तिशाली नेता हुन् भने देउवाका विश्वासपात्र हुन् ।

कांग्रेसले यसअघि भ्रष्टाचार मुद्धा प्रमाणित भएपछि पनि खुमबहादुर खड्का, विजयकुमार गच्छदार, चिरनजीवी वाग्लेलाई निलम्बन गरेको थिएन । त्यही नजिर देखाएर अहिले पार्टीबाट कारबाही गर्न नहुने बताएका बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

देउवाले संस्थापन इतरका नेताहरूले यो विषयलाई चर्को रूपमा उठाउने देखेपछि केन्द्रीय समिति लाइभ गर्ने प्रस्ताव पनि पदाधिकारी बैठकमा प्रस्तुत गरका थिए । लाइभ भयो भने चर्को रूपमा उठाउने नेताहरू कुन कुन छन भन्ने सबैलाई जानकारी हुने भएपछि हच्किन्छन् भनेर देउवाले त्यस्तो प्रस्ताव गरेको हुन सक्ने आशंका इतर पक्षका नेताहरूको छ ।

कांग्रेसको केन्द्रीय समिति मंगलबारका लागि बोलाइएको छ । संघ र प्रदेश सभा निर्वाचनपछि पहिलो पटक बैठक बस्न लागेकाले धेरैले असन्नतुष्टि चर्को मात्रामा बैठकमा राख्ने देखेपछि देउवाले बैठक लाइभ गरेपछि आफ्नो आलोचना कम हुन्छ कि भन्ने जुक्ति लगाएर यस्तो प्रस्ताव गरेका हुन् । लायभ गर्ने विषयमा पनि नेताहबीच मतैक्यता नभएको स्रोतले बतायो ।

देउवा केन्द्रीय समितिमा नक्कली शरणार्थी प्रकरणलगायत सम्पूर्ण विषयमा केन्द्रित रहेर केन्द्रिय कार्यसमिति बैठकमा छलफल गर्न भने तयार भएका छन् ।

यसअघि देउवा नक्कली भुटानी शरणार्थी प्रकरणको विषयलाई बैठक एजेन्डा बनाउन तयार भएका थिएनन् ।