रामेछाप,२७ साउन । नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले रामेछाप जिल्लामा पार्टी सदस्यता नवीकरणको काम उत्साहजनक देखिएको बताउनुभएको छ । 

शनिबार मन्थलीमा आयोजित केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला पदाधिकारी, निर्वाचन क्षेत्र समन्वय कमिटी पदाधिकारी तथा पालिका अध्यक्षहरूको संयुक्त बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले जिल्लामा करिब १० हजार पार्टी सदस्यले असार मसान्तसम्म आफ्नो सदस्यता नवीकरण गर्नुभएको जानकारी दिनुभयो । 

पार्टी स्थायी समिति सदस्य गुरु बरालको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले सदस्य वितरण र नवीकरणको काम निरन्तर रहने बताउनुभयो । यद्यपि साउनबाट सदस्यता नवीकरण  गर्ने वा सदस्यता लिनेले आउने चैत महिनासम्म हुने पार्टीका आन्तरिक निर्वाचन प्रक्रियामा भने भाग लिन नपाउने उहाँले जानकारी दिनुभयो । अबको ध्यान केही समय पार्टीको प्रदेश अधिवेशनमा केन्द्रित हुने उहाँले बताउनुभयो । 

बैठकका अध्यक्ष श्रेष्ठले जिल्ला पार्टीको वार्षिक कार्य योजना पनि प्रस्तुत गर्नुभयो । जसमा पालिका र वडा कमिटी अध्यक्ष र पदाधिकारीलाई क्षमता अभिवृद्धि कार्यक्रम, जिल्ल तहको आवासीय आधारभूत प्रशिक्षण कार्यक्रम, पालिका स्तरको प्रशिक्षण लगायतका कार्यक्रम प्रस्ताव गरिएको छ । 

त्यस्तै सञ्चार माध्यम मार्फत पार्टीका अभियान र सन्देश प्रचार गर्ने, पार्टीको आफ्नै युट्युब च्यानल, फेसबुक पेज निर्माण गर्ने, मुख पत्र प्रकाशन गर्ने प्रचार भेला गर्ने लगायतका कार्यक्रम प्रस्ताव गरिएको छ । जनसंगठनको कार्यशाला, अधिवेशन गर्न बाँकी जनसंगठनको जिल्ला अधिवेशन मङ्सिर महिना भित्र सक्ने गरी प्रस्ताव गरिएको छ । पार्टी सुदृढीकरण र विस्तारको विशेष अभियान सञ्चालन गर्ने कार्य योजना पनि प्रस्ताव गरिएको छ । 

पार्टी स्थापनाको हीरक महोत्सवका अवसरमा विशेष कार्यक्रम गर्ने प्रस्ताव पार्टी जिल्ला कमिटीको तर्फबाट अध्यक्ष श्रेष्ठले गर्नुभएको छ । त्यस्तै स्थानीय तहको वार्षिक प्रतिवेदन सहितको समीक्षा बैठक तथा रामेछाप जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको लागि भावी योजना सम्बन्धी कार्यशाला विज्ञ समेतको संलग्नतामा सञ्चालन गर्ने पार्टी जिल्ला  कमिटीले प्रस्ताव गरेको छ । जिल्ला प्रतिनिधि परिषद्को बैठक असोज महिनामा गर्नको लागि प्रस्ताव गरिएको छ । 

बैठकका अध्यक्ष श्रेष्ठले प्रस्ताव गर्नुभएको प्रस्तावमा पार्टीको निर्माणाधीन भवन निर्माणको लागि आर्थिक संकलनको कामलाई राजनीतिक र संगठन विस्तारको कामसँगै जोडेर लैजाने प्रस्ताव गरिएको छ ।