विराटनगर,४ भदौ ।  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत नलिने संकेत गरेका छन् । सत्ता गठबन्धनका दलहरुसँगको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै उनले आज विश्वासको मत लिने सम्भावना नदेखिएको बताए ।

उपसभामुख आफैँले बोलाएको प्रदेशसभा बैठक छाडेर काठमाडौँ गएपछि विश्वासको मत लिने सम्भावना नभएको उनको भनाइ छ ।

उनले भने, ‘आफैंले बोलाएको बैठक उपसभामुखले दिएको समय थियो, उहाँनै अनुपस्थित हुनुभयो, उहाँले आज बिहान ९ बजेतिर जानकारी दिनुभयो, उहाँले बोलाएको बैठकमा उहाँ नहुँदा के गर्ने भन्ने निर्णय कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्छ । आजै विश्वासको मत लिने सम्भावना देखिएन ।’

थप छलफल गरेर अर्को दिनलाई समय निश्चित गरेर अघि बढ्ने उनले बताए ।

उपसभामुख नभएका कारण बिहान ८ बजे बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ । बैठक दिउँसो १ बजेलाई पुनः बोलाइएको छ । उक्त बैठकले आज प्रदेशसभा बैठक बस्ने कि नबस्ने भन्ने कुराको टुंगो लगाउने सांसदहरुको भनाइ छ ।

प्रदेशमा आफूहरु मिलेर जान चाहेको बताउँदै थापाले एमालेले एउटा कुरा गरेर अर्कै काम गरेको आरोप लगाए । उनले भने, विश्वासको मत दिन मन नभए समय नदिएको भए हुन्थ्यो नि ।’

उपसभामुखबाट संसदीय परम्परा तोड्ने काम भएको थापाको आरोप छ ।