काठमाडौँ,६ भदौ  । पछिल्लो समय नेकपा एकीकृत समाजवादीबाट नेकपा एमालेमा प्रवेश गर्नेको लर्को लागेपछि नेकपा एकीकृत समाजवादीमा खैलाबैला भएको छ । 

एकपछि अर्को गरी एमाले प्रवेश गर्नेहरूको क्रम नरोकिएपछि समाजवादीमा खैलाबैला सुरु भएको हो । पार्टी फुटाउनुको औचित्य पुष्टि भएको बताएता पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेमा प्रवेश गर्नेहरूलाई रोक्न नसेकेकोप्रति दुखेसो पोखेका छन् । 

मङ्गलवार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले पार्टी पङ्क्तिमा निराशा मात्रै देखिएको बताएका छन् । 

आफूहरूले चाहे जसरी पार्टी नचलेको भन्दै उनले पलायन रोक्न नसकेको प्रति गुनासो गरे । 

‘हाम्रो पार्टी हामीले चाहे जसरी अगाडि बढ्न सकेको छैन । पार्टी पङ्क्तिमा आलस्यता, निराशा, निष्क्रियता, पलायन जस्ता कमजोरी देखिएका छन्’,उनले भने । 

यस्तो कमजोरी देखिनुको प्रमुख कारण पार्टीकै कतिपय व्यक्तिले पार्टीको बदख्वाइँ गर्ने अनुशासनहीन र अराजक कार्य भएको नेपालको दाबी छ । 

‘यस्तो कार्य गर्ने केही व्यक्ति पार्टीबाट पलायन भएर गइसके यदि कोही पार्टीमा छन् भने उनीहरूलाई त्यस्तो काम गर्ने छुट छैन’, नेपालले भने ।