जनकपुरधाम,९ भदौ । पूर्व राष्ट्रपति डा रामवरण यादवका पुत्र डा चन्द्रमोहन यादवलाई पार्टीमा अन्तर्घात गरेको आरोप लागेको छ । 

नेपाली काँग्रेस धनुषा क्षेत्र नं. ४(क) का क्षेत्रीय सभापति योगनारायण यादवले पार्टीका केन्द्रीय सदस्य समेत रहेका डा.चन्द्रमोहनविरुद्ध यस्तो आरोप लगाएका हुन् ।

पार्टीको एक कार्यक्रममा केन्द्रीय सदस्यले गरेको अन्तर्घात बारे बोल्न नदिएकोमा आपत्ति जनाउँदै उनले भने,‘रातदिन एक गरेर लागेर  माया गरेर बनाएको पार्टीमा बोल्न नपाउनु दुःखद हो ।

’उनले पटक–पटक पार्टीको केन्द्रीय नेता डा.चन्द्रमोहनको अन्तर्घातको सिकार भई क्षेत्र नं. ४ मा पार्टीको उम्मेदवार चुनावमा हार व्यहोर्नुपरेको पार्टी नेता डा. शेखर कोइरालालाई सुनाए ।

‘हाम्रो सहमहामन्त्री महेन्द्र यादवलाई यो पटक पनि डा. चन्द्रमोहन यादवले खुलेयाम रूपमा हराएका छन्,’ उनले भने, ‘क्षेत्रमा चुनावको समयमा घुम्न जान आग्रह गरे पनि फुर्सद छैन भन्दै सहयोग गरेनन् ।

प्रदेश र प्रतिनिधिसभातर्फ रहेको हाम्रो दुवै उम्मेदवार जित्छ भनेर वहाँलाई भनेको थिए । तर, पनि वहाँले समय छैन भनेर आफ्नै पार्टीको उम्मेदवारलाई असहयोग गर्नुभयो,’ उनले भने ।

पार्टीका शीर्ष नेता डा. शेखर कोरालासहित प्रदेशका मन्त्रीहरू जनकपुरधाम उपमहानगरपालिकाका मेयरसहितको उक्त बैठकमा बोल्दै उनले भने,‘प्रदेशसभा र प्रतिनिधिसभाबाट समेत उनलाई कारबाही गर्न सिफारिस गरेर पठाएका छौँ । तर, अहिलेसम्म त्यो कारबाईको केही पनि भएको छैन ।अन्तर्घातीहरू शीर्ष नेताहरुसँगै घुमिरहेका छन् । यसले आम कार्यकर्तामा ठुलो ठेस पुगिरहेको छ ।’

विशेष अन्तरक्रिया अभियान अन्तर्गत जनकपुरधाम आएका डा शेखरलाई उनले पार्टीसँग गद्दारी गर्नेलाई कहिले माफी नपाउने व्यवस्था गर्न माग गरे । पार्टीसँग अन्तर्घात गरेकोलाई कारबाईको लागि भएको सिफारिस उपर छानबिन गरी कारबाही हुनुपर्ने उनले जोडदार माग गरे ।

धनुषा क्षेत्र नं. ४ मा रघुवीर महासेठसँग दोस्रो पटक पनि सहमहामन्त्री महेन्द्र यादव पार्टीकै शीर्ष नेताबाट भएको अन्तर्घातको कारण हारेको पार्टीका नेता कार्यकर्ताहरूको भनाइ छ । यस पटक उनी महासेठसँग १ सय २४ मतले हार व्यहोरनुप¥यो ।

जिल्लामा महासेठ श्रीमान् श्रीमती नै निर्वाचित भएका हुन् । एमाले नेता महासेठकी श्रीमति जुली कुमारी महतो धनुषा ३ बाट निवार्चित भएकी थिइन् ।

 उनी तत्कालिन सत्ता गठबन्धनको साझा उम्मेदवार अनिल झालाई करिब १० हजार मतान्तरले पराजित गर्दै विजयी भएकी थिइन् ।