काठमाडौं,९ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि आफू र आफ्नो दललाई अपमान गरेको गुनासो गर्नुभएको छ ।

पार्टीनिकट विद्यार्थी संगठन अनेरास्वबियुले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले यस्तो गुनासो गर्नुभएको हो । नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कारण यसपटक प्रधानमन्त्रीले अपमान गरेको बताउनु भयो । उहाँका अनुसार सर्वदलीय बैठकमा नबोलाएर प्रधानमन्त्रीले अपमान गर्नुभएको हो । नेपालले ओलीकै कारण आफ्नो पार्टीलाई सर्वदलीय बैठकमा नबोलाइएको गुनासो गर्नुभयो ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने बारेको सर्वदलीय बैठकलाई राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठकको नाम दिएर आफ्नो पार्टीलाई निषेध गरी अपमानित गरेको नेपालको गुनासो छ । नेपालले ओलीकै कारण प्रधानमन्त्री त्यसो गर्न बाध्य भएको भन्दै कार्यकर्तालाई थुम्थुम्याउनु भयो । नेपालले प्रधानमन्त्रीप्रति आक्रोश पनि पोख्नुभयो ।

नेपालले थप्नुभयो, ‘अब हामीले पनि केही गर्नुपर्छ भनेर सोचिरहेका छौं। धेरै भलादमी भएर पनि हुँदैन,’ नेपालले भन्नुभयो, ‘घिउ निकाल्नका लागि औंलो अलि बाङ्गै गर्नुपर्दो रहेछ । त्यो बाङगो नगरेर हुँदो रहेनछ ।’ नेपालले नेकपालाई ब्युँताऔं भन्ने आफ्नो प्रस्तावलाई ओलीले लत्याएको दावीसमेत गर्नुभयो । आफूले भनेको व्यक्तिलाई राष्ट्रपति बनाउने बेलासम्म आफूसँग लगातार भेट्न खोजेको तर त्यो पूरा नभएपछि संवाद नै बन्द भएको नेपालको गुनासो थियो ।

नेपालले राष्ट्रपतिमा ओलीले प्रस्ताव राखेपनि आफू नमान्ने मनस्थितिमा रहेको कारण नबनेको बताउनु भयो । त्यतिबेला प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रपतिका लागि प्रत्येक बैठकमा आफूलाई प्रस्ताव गरेको नेपालले बताउनु भयो ।