काठमाडाैं,९ भदौ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनले पटक-पटक संविधान उल्लंघन गरेकाे बताउनुभएकाे छ ।
पार्टी स्थापनाको दोस्रो वर्षको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले गठबन्धनले गरेका गलत कामकाे सिकार पार्टी हुन नहुने बताउनुभयाे । गठबन्धनले एकपछि अर्काेगरी संविधान उल्लंघन गरेकाे विषयमा पार्टीकाे स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने उहाँले बताउनुभयाे ।
काेशी प्रदेश सरकारमा संविधान उल्लंघन भएकाेबारे सर्वाेच्च अदालतकाे आदेशमा पार्टीकाे आधिकारिक धारणा के हाे भन्ने प्रश्न समेत नेता खनालले गर्नुभयाे । 'संविधानकाे रक्षा गर्नका लागि गठबन्धन बनेकाे हाे, तर याे गठबन्धनले नै एकपछि अर्काे संविधान उल्लघंन गरिरहेकाे छ, काेशीमा मात्रै २ पटक संविधान उल्लंघन भयाे भनेर सर्वाेच्च अदालतले भनिरहेकाे छ, यसमा हाम्राे पार्टीले कस्ताे धारणा राख्ने त ? हाम्राे पार्टी क्लियर हुनुपर्छ, हामी गठबन्धनकाे नाममा उनीहरुले गरेका गलत कामकाे सिकार चाहिँ हुनुहुँदैन, हाम्राे पार्टीले आफ्नाे स्वतन्त्रता कायम गरेर अगाडि बढ्नुपर्छ'-उहाँले भन्नुभयाे ।
आफ्नाे स्वतन्त्रता कायम गर्दै देश र जनताकाे पक्षमा काम गर्दै अगाडि बढे मात्र राष्ट्रिय महाधिवेशन सफल हुने र पार्टीका नीतिहरु पनि स्थापित हुने नेता खनालले बताउनुभयाे ।




















