काठमाडौं,१० भदौ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन लोकतान्त्रिक पद्धति र संविधानको मर्मविपरीतको खेलमा लागेको ठोकुवा गर्नुभएको छ ।

नेकपा एमाले कोशी प्रदेश संगठन कमिटीको सातौँ पूर्ण बैठकलाई आज विराटनगरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन बल मिच्याइँ गरेर जबरजस्ती अघि बढ्ने प्रयत्नमा लागेको बताउनु भयो ।

कोशी प्रदेशका गठबन्धनले पटक पटक संविधान मिचेको फेरी पनि अनेक खालका फोहोरी खेल खेल्न काम भइरहेको भन्दै उहाँले आलोचना गर्नुभयो । गठबन्धनले नाम लोकतन्त्रको जप्ने, काम लोकतन्त्र विरुद्धको गर्ने गरेको उहाँले बताउनुभयो । ‘बलमिच्याइँ गरेर फोहोरी राजनीति गरिरहेका छन,’ ओलीले भन्नुभयो ।

पहिचानको नाममा कोशी प्रदेशमा हिंसा भडकाउने र सत्ता कब्जा गर्ने षडयन्त्रमा सत्ता गठबन्धन लागेको उहाँले बताउनुभयो । पहिचानको नाममा राजनीति गर्दा एमालेविरुद्ध माहौल बनाउन सकिन्छ कि भन्ने सोच उनीहरूको भएको अध्यक्ष ओलीको भनाई छ ।

ओलीले नेपाली समाज मिलेर बसेको र मिलेर बस्ने बताउनुभयो । नेपाली भाइ–भाइलाई लडाएर ताली बजाउनेलाई मौका दिन नहुने उहाँले प्रष्ट पार्नुभयो । ‘दाजु–भाइ दाजु–भाइ लड्ने, अनि दर्शक भएर बस्नेहरू चाहिँ ताली बजाउने ? त्यो स्थिति आउन दिनु हुँदैन’, ओलीले भन्नुभयो ।

गठबन्धनले पहिचानको नाममा राजनीति गर्न खोजेको बताउँदै सबै जातजाति मधेशी, दलित, थारु, लिम्बुवान, किराँत, शेर्पा सबैले न्याय पाउनुपर्ने उनको भनाई छ । देश नेपालीले नै बनाउनु पर्ने बताउँदै आलीले अरूले आएर नबनाइदिने बताउनुभयो । अरूले गरिदेला हामी पाउँला र खाउँला भन्ने आस गरेर बस्न नहुने उहाँको भनाइ छ । एमालेका नेता कार्यकर्ता अब राजनीतिक अभियानमा मात्र होइन आर्थिक र सामाजिक विकासको अभियानमा पनि लाग्नु पर्ने आवश्यकता पनि उहाँले औल्याउनु भयो ।

उहाँले राजनीति गर्ने नेताको व्यवहार र आचरण राम्रो हुनु पर्ने बताउनुभयो । एमालेका नेता कार्यकर्तामा छ्या भन्ने आचरण हुन नहुने पनि उहाँले बताउनु भयो । ‘प्रशंसा गर्न लायकको आचरण हुनु पर्यो’, ओलीको भनाई थियो । एमालेका नेता कार्यकर्तामा पार्टीप्रति, देशप्रति, व्यवस्थाप्रति उच्च श्रद्धा र सम्मान हुनुपर्ने उहाँले बताउनुभयो । नेता कार्यकर्तालाई इमानका साथ अघि बढ्न पनि उहाँले आग्रह गर्नुभयो ।

ओलीले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा आए पार्टीले स्वागत गर्ने बताउनुभयो । तर उहाँले पार्टीको राजनीतिमा आउने बारेमा हालसम्म कुनै कुरा नगर्नुभएको पनि अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो ।