विराटनगर,११ भदौ । कोशी प्रदेश आजदेखि बजेट शून्यतामा गएको छ । तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशबाट ल्याएको बजेट कार्यान्वयनमा नआएपछि आजबाट कोशीमा ’बजेट होलिडे’को अवस्था सिर्जना भएको हो ।
सरकारी ढुकुटीबाट खर्च रोकिने अवस्थालाई बजेट होलिडे भनिन्छ । यस्तो अवस्था आएसँगै कोशी प्रदेश सरकारले आइतबार रातिदेखि खर्च गर्न नपाउने भएको छ ।
तत्कालीन मुख्यमन्त्री कार्कीले जेठ ३२ गते अध्यादेशमार्फत बजेट ल्याउनुभएको थियो । उहाँले असार १४ गते प्रदेश सभामा बजेट अध्यादेश पेस गर्नुभएको थियो । प्रदेश सभामा अध्यादेश पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर सो अवधिमा प्रतिस्थापन विधेयक आउन नसक्दा अध्यादेश स्वतः निष्क्रिय भएर प्रदेशमा बजेट होलिडेको अवस्था आएको छ । योसँगै सरकार खर्चबिहीन हुन पुगेको छ ।
अध्यादेशबाटै अर्को बजेट ल्याउन वर्तमान प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरेको थियो । तर मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभामा विश्वासको मत लिने क्रममा प्रदेश सभाको अध्यक्षता गरेका सांसद्ले समेत मत दिएपछि नेकपा एमालेले सर्वाेच्चमा रिट दायर गरेको थियो । सो रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वाेच्चले सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न आदेश दिएको छ ।
बजेट शून्यतामा गएपछि कर संकलन प्रभावित बनेको छ । संविधानले बजेट बिहीनताको परिकल्पना गरेको छैन । तर सरकारको असंवैधानिक कदम र राजनीतिक खिचातानीका कारण यस्तो अवस्था सृजना भएको छ । कोशीमा गठबन्धनले ताण्डव मच्चाउँदै संबिधान मिचेर गर्न नहुने काम गरेको तर गर्ने पर्ने काम नगरेको कारण यो अवस्था आएको हो ।




















