गाईघाट,१६भदौ। माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी उदयपुरमा पहिरो गएको छ । एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि नभएको भन्दै अध्यक्षसहित त्रियुगा नगर कमिटी एमालेमा विलय भएपछि पार्टीमा पहिरो गएको हो ।

केहि दिन अघि बद्री गेलाल फर्किए लगत्तै शुक्रबार नगर कमिटीका अध्यक्ष तथा जिल्ला कमिटी सदस्य जनार्दन रेग्मी नेतृत्वको टिम पुरानो घर एमालेमा फर्किएको एमाले उदयपुरका अध्यक्ष परमेश्वर घिमिरेले जानकारी दिए । 

 त्यसैगरी नगर कमिटीका सचिवालय सदस्यहरु धुर्वराज कार्की, निर्मल रेग्मी, राजकुमार थापा, उदय कार्की, प्रशान्त बस्नेत, सुनिल पौडेल,मिना राया, अनेरास्ववियुका जिल्ला सदस्य सुनिता विक लगायतका नेताहरु एमालेमा समाहित भएको अध्यक्ष घिमिरेले बताए  ।

उनीहरुलाई एमालेका केन्द्रीय सदस्य तथा पालिका इञ्चार्ज अम्बिका थापा,प्रदेश कमिटी सदस्यद्धय बैकुण्ठनाथ दहाल र भागवत राउतले स्वागत गरेका थिए ।

यसरी धमाधम नेता कार्यकर्ता पुरानै घरमा फर्किन थालेपछि एमालेबाट चोइटिएर गएको माधव नेपाल समुहलाई नेता र कार्यकताएको संकट पैदा भएको छ ।

भुगोल तथा जनसंख्याको हिसावले जिल्लाकै सबैभन्दा ठुलो तथा सदरमुकाममा रहेको नगरपालिकाका अध्यक्ष नै एमालेमा फर्किएपछि समाजवादीमा नेताको खडेरी लाग्न सुरु भएको हो ।

एक बिज्ञप्ती जारी गर्दै उनीहरुले एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि गर्न नसकी दक्षिणपन्थीको सेवाका लागि विर्सजनबाद तिर लागेकोले आफुहरु पुनः मुलधारकै पार्टी एमालेमा फर्किएको बताएका छन् ।

पार्टीको सिद्धान्त र कार्यनीति विचमा तारतम्य नमिली कार्यकर्ता र जनमानसमा दिग्भ्रमित बनाउने र दक्षिणपन्थी र अवसरबादी पार्टीको बैशाखी टेकेर निर्वाचनमा गठबन्धन गरी सिद्धान्तलाई तिलान्जली दिएको हुँदौ बस्नु औचित्य नरहेको उनीहरुले बताएका छन् ।

नेपाल राष्ट्र र नेपाली जनताको उन्नति प्रगतिको बाहक शक्ति भएको नेकपा एमाले नै हो एकीकृत समाजवादी पार्टीको भ्रममा नपरी यथासक्य छिटो मुलघरमा फर्कन भन्दै आवहान पनि गरेका छन । 

 अहिले उदयपुरमा एमालेमा फर्किनेको लहर चलिसकेको र अन्य साथीहरुपनि चाडै फर्किने कुरा भईरहेको एमाले उदयपुरका अध्यक्ष परमेश्वर घिमिरेले भने  । 


1368ebc5-b74a-404a-9ef0-17f46cb6a909