सिन्धुली,१८ भदौ  । नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले पार्टीमा फेरि पनि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई मिलाउने प्रयास गरिएको भन्दै कडा आपत्ति जनाउनु भएको छ ।

पार्टीकै केही ब्यक्तिहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फेरि पनि बालकोट पुर्याउन खोजिरहेको बताउँदै त्यसो गरिए एमालेमाथि गम्भीर क्षती हुने बताउनु भयो ।

प्रेस चौतारी सिन्धुलीले आज आयोजना गरेको पत्रकार भेटघाटमा नेता बस्नेतले भन्नुभयो, ‘पार्टीभित्रकै केही मानिसहरु प्रचण्ड र माधव नेपाललाई एमालेमा मिसाउने प्रयास गरिरहनु भएको छ, त्यो सपना नदेख्न म उहाँहरुलाई आग्रह गर्छु, यदी उहाँहरु जर्वजस्ती बालकोट प्रवेश गर्ने प्रयत्न गर्नुहुन्छ भने हामी उहाँहरुलाई नै त्यहाँबाट लेखेट्न बाध्य हुनेछौं ।’

बस्नेतले जसले प्रचण्ड र माधवलाई एमालेमा मिलाउने प्रयासलाई पार्टी सकाउने अभियानको संज्ञा दिनुभयो । जस्ले प्रचण्ड–माधवलाई एमालेमा मिलाउने अभियान चलाइरहेका छन, उनीहरु एमालेलाई सिध्याउन चाहान्छन, हामी त्यसो हुन दिन्नौं,’ बस्नेतको उदघोष थियो । उहाँले आफ्नो सिन्धुलीसँग विषेश प्रकारको सम्बन्ध रहेको बताउँदै पुरानो घटना संझनुभयो । ‘यहाँ आउनासाथ पुरानो घट्ना याद आइहाल्छ, म त्यो कहाली लाग्दो अपराधिक घटना र त्यसका नाइकेलाई संझिहाल्छु,’ माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य राजन दाहालतर्फ लक्षितगर्दै उहाँले भन्नुभयो ।

पत्रकारको प्रश्नको जवाफ दिने क्रममा बस्नेतले शान्ति संझौतापछिको फौजदारी अपराधको घटनामा राजन दाहाल जेल जाने ठोकुवा गर्नुभयो । रामेछाप इन्चार्ज भएका बेला दाहालले एमालेका तत्कालीन नेता देवशंकर पौडेललाई भिरबाट लडाएर हत्या प्रयास गरेको, कालोमोसो दलेर दुव्र्यवहार गरेको, ईश्वर पोखरेल, पशुपति चौलागाई (स्व.) लगायतका नेतालाई तामाकोशीमा खसाल्न भिरबाट ढुंगा लडाउने, रातामाटेमा हाम्रो एक लाख रुपैया लुटेर केशव देवकोटालाई अपहरण गरेको कारण दाहाल एकदिन जेलको कालकोठरीमा जाने उहाँको भनाई थियो ।

पछिल्लो समय एमालेविरुद्ध पुनः आक्रामक बनेर नेताहरुमाथि आरोप लगाइरहेका दाहाललाई कुनै हालतमा नछोडिने बस्नेतले घोषणा गर्नुभयो । सिन्धुलीको रातामाटे घटना स्मरण गर्दै उहाँले आफ्नो औंला भाँचिदिएको र नक्कली दाँत हालेर हिँडेको बताउनु भयो । बस्नेतले राजन दाहाल मात्र नभएर प्रचण्ड पनि जेल जाने बताउनु भयो ।

अहिले भ्रष्टाचारका फाइल खोल्ने भन्दै माधव नेपाल र माओवादीका नेताहरुलाई सफाइ दिएर हिँडेका प्रचण्ड आफ्नै गल्तीका लागि जेल जाने बस्नेतको भनाई छ । बस्नेतले एक जना ठेकेदारको १ करोड रुपैयाँ राजन दाहालले लुटेर लगेको आरोप पनि लगाउनु भयो । राजनीतिमा अपराधिकरण बढाएर भएका घटनाहरुको छानबीन गरौं र दोषीहरुलाई कारबाही गरौै भनेर आफूहरुले पटक पटक भनेको तर सुनुवाई नभएको बस्नेतको भनाई छ ।

नेता बस्नेतले पार्टीको विकल्पमा आएका स्वतन्त्रहरु कहिल्यै पनि बिकल्प बन्न नसक्ने ठोकुवा पनि गर्नुभयो । ‘हाँस्य कलाकारलाई युक्रेनी जनताले राष्ट्रपति बनाए, उनी साम्राज्यवादीको गोटी बने र अहिले त्यहाँका जनता रोएर बसिरहेका छन । स्वतन्त्रका नाममा उदाएका रवि, बालेन, हर्क र इमरानहरु जेलेन्स्की जस्तै थिए, रवि लामिछानेले गरेको भन्दा बढी स्टण्डबाज त इमरानले गरेका थिए, उनी केही कुरामा कमी थिएनन तर सामाजिक सुरक्षाको अर्बाैं रकम घोटाला गरेको केसमा इमरान ३ वर्ष जेल गए । त्यसैले त्यस्ता इष्टण्डवाजहरु धेरै समय टिक्ने छैनन,’ बस्नेतले भन्नुभयो ।

उहाँले प्रहरी र राजश्वका हाकिमहरु घुस खाएर राखेकै कारण पछिल्लो समय राजस्व एक तिहाईमा घटेको बताउनु भयो । ‘केपी ओलीले सरकारको नेतृत्व गर्दा एक सय दश प्रतिशत बढेको राजस्व प्रचण्डले नेतृत्व गर्नासाथ एक तिहाईमा झरेको छ । प्रहरी र भन्सार हाकिम मिलेर अबैध च्यानलबाट सामान लगिरहेको छ, यी सबै हुनुको मुख्य कारण राजनैतिक भ्रष्टिकरण र अपराधिकरण नैं मुख्य हो, यसलाई नियन्त्रण नगरेसम्म अर्थतन्त्रमा सुधार आउँदैन,’ बस्नेतले भन्नुभयो ।