काठमाडौं,१९ भदौ । सर्वोच्च अदालतले कोसी सरकारविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ आज हुने भएको छ। न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासले रिटमाथि बहस बाँकी रहेकाले हेर्दाहेर्दैमा राखेको हो।
सोमबारदेखि रिट निवेदनमाथि पूर्ण इजलासमा सुनुवाइ सुरू भएको हो। रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, रवि नारायण खनाल लगायतले बहस गरेका थिए। आज सरकारी पक्षले बहस गर्ने छन्।
कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मल्ल र सुष्मलता माथेमाको संयुक्त इजलासले आइतबार रिट पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो। सोही आदेशबमोजिम रिट सुनुवाइका लागि सर्वोच्चले तीन सदस्यीय पूर्ण इजलास गठन गरेको हो।
कोसीमा मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत असंवैधानिक भएको दाबी गर्दै एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए। रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाइएको छ।
प्रदेशसभा बैठक आह्वान गरेर बिरामी परेको भन्दै उपसभामुख सिर्जना दनुवार काठमाडौं गएपछि मन्सुरीले सभाको अध्यक्षता गरेका थिए । मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजनपछि दिएको मत सच्याउने समयमा सभाध्यक्षको आसनमा नेकपा (माओवादी केन्द्र)की प्रदेशसभा सदस्य गीता तिम्सिनालाई बोलाउँदै मन्सुरी मतदान प्रक्रियामा सहभागी भएका हुन्। उनकै मतका आधारमा मुख्यमन्त्री थापाले ४७ मत पाए। विपक्षमा ३० मत परेको थियो।




















