काठमाडाैं,१९ भदौ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । 

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनमा आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएकाे छ । यसअघि सोमबार रातिदेखि नै मतदान हुने भनिएपनि मंगलबार बिहानका लागि सारिएकाे थियाे ।

सहमतिबाटै नेतृत्व टुंग्याउने प्रयास भएपनि सफल हुन नसक्दा चुनाव नै हुने अवस्था आएकाे हाे । एमाले लुम्बिनी प्रदेश कमिटीकाे अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल प्रतिष्पर्धामा हुनुहुन्छ । सचिवमा लक्ष्मण आचार्य सोमबार नै निर्विरोध निर्वाचित भइसक्नुभएकाे छ ।

अधिवेशनले ५ जना पदाधिकारीसहित २ सय ५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ । ५ जना पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको छ । पदाधिकारी र प्रदेश कमिटी सदस्यसहितका लागि कुल ३ सय ६४ जनाको उम्मेदवारी परेको छ । 

प्रदेश कमिटी सदस्यमा भने धेरैजसाे सहमति भइसकेकाे बताइएकाे छ । 

सहमति हुन नसकेर मतदान प्रक्रिया लम्बिएपछि अधिवेशन पनि लम्बिएकाे छ । अधिवेशनकाे भदाै १६ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएकाे थियाे ।