बुटवल,१९ भदौ । नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सकिएको छ। लुम्बिनी प्रदेश अधिवेशन अन्तर्गत कुल १ हजार ४ जना मतदाता रहेकोमा ९ सय ६५ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ।

बिहान ८ बजे सुरु भएको मतदान अवधि दिउँसो १ बजेसम्मका लागि तोकिएको थियो। तर, १ बजेभित्र हलभित्र छिरेका प्रतिनिधिले मतदान गर्न २ बजेसम्म लागेको निर्वाचन समितिले जानकारी दिएको छ।

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार अब केही बरेमा मतगणना सुरू हुनेछ भने आजै रातिसम्म गणना सकेर मतपरिणा सार्वजनिक गर्ने तयारी छ।

प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष रहनुभएका पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालका बीचमा प्रतिष्पर्धा हुँदैछ।

सचिवमा उम्मेदवारी दिनुभएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि दाङका लक्ष्मण आचार्य निर्विरोध भइसक्नुभएको छ ।

पाँच पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष, र दुई उपसचिवमा १३ जनाबीच प्रतिस्पर्धा छ। उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ, रूपन्देहीकै विश्वराज बराल अनुप, बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वलीबीच प्रतिस्पर्धा छ।

महिला एकजना उपसचिव पदमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बर्दियाकी लिला रानाले उम्मेदवारी दिएका छन्।

यस्तै, पुरुषतर्फ एक उपसचिव पदमा रूकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद चौधरी, रोल्पाका पूर्ण बुढामगर र गुल्मीका हिरा एसिले उम्मेदवारी दिनुभएको छ । शनिबारदेखि सुरू भएको अधिवेशनमा सहमतिको प्रयास भन्दै सोमबार दिउँसोसम्म निर्वाचनको प्रक्रिया लम्बाइएको थियो।

सहमति जुट्न नसकेपछि साँझ ७ बजेदेखि मतदान प्रक्रिया सुरू गर्ने बताइएपनि मतदानको लागि आवश्यक तयारी पूरा नभएपछि राति १० बजे सूचना गरेर आज बिहान ८ बजेका लागि समय सारिएको थियो।