बुटवल,२० भदौ। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृव चयनकालागि मंगलबार भएको निर्वाचनको बुधबार बिहान सार्वजनिक परिणाम सार्वजनिक भएको छ । मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।
मतदानमा एउटा उपसचिव बाहेक अन्य पदमा उपाध्यक्ष विष्णु पौडेल समूहको प्यानलै निर्वाचित भएको छ।मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् । विजयी कंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका छन्।
त्यस्तै, उपाध्यक्षमा कँडेल समूहकै भाेजप्रसाद श्रेष्ठ, उपसचिवमा भने रिजाल समूहका पूर्ण बुढामगर र महिला उपसचिवमा कँडेल समूहकी लिला रानामगर निर्वाचित भएकी छिन्।सचिवमा यसअघि नै कँडेल समूहका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन्।
पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ ।
यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो ।
विजयी उम्मेदारहरुलाई बुधबार बिहान ९ बजे नै शपथग्रहणको कार्यक्रम राखिएको निर्वाचन मण्डलका सचिव तथा पार्टी पोलिटब्युरो सदस्य सूर्य थापाले जानकारी दिएका छन् ।




















