वीरेन्द्रनगर,१० असोज नेकपा (एमाले)को कर्णाली प्रदेशको प्रथम अधिवेशन आज बुधबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरू हुँदैछ ।

दिउँसो १ बजेबाट वीरेन्द्रनगरको सिटी हलमा सुरु हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नु हुनेछ ।

एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहका अनुसार अधिवेशनलाई अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अधिवेशनमा १० जिल्ला र मोर्चासंगठनबाट ६०४ जना प्रतिनिधि रहेका छन् ।

अधिवेशनको बन्द सत्र भोलि बिहीबार बिहान ८ बजेदेखि सुरु हुनेछ ।

बन्दसत्रले पार्टीको राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ । अधिवेशनले पाँच जना पदाधिकारीसहित १ सय ३५ सदस्सीय कमिटी निर्वाचित गर्ने बताइएको छ ।