विराटनगर,१५ असोज । नेकपा एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि मतदान सकिएको छ । गएराति नौ बजेपछि सुरु भएको मतदान बिहान पाँच बजेतिर सकिएको छ ।

कुल ९ सय ९७ जना अधिवेशन प्रतिनिधि रहेको कोशी प्रदेशमा ९ सय ७७ जनाले मत खसाएका छन् । मतगणनाको काम केही बेरपछि सुरु गरेर आजै परिणाम घोषणा गर्दै अधिवेशन सक्ने योजना बनाइएको छ । निर्वाचन कमिटीका सदस्यहरू रातभरि नसुतेका कारण केहीबेर आराम गरेर मतगणना सुरु गर्ने बताइएको छ ।   

कोशी प्रदेशमा अध्यक्षका लागि विराटनगरका विनोद ढकाल  र मोरङकै लेटाङका घनश्याम खतिवडा प्रतिस्पर्धामा हुनुहुन्छ । ढकाल एमाले केन्द्रीय सदस्य समेत हो ।

उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारी प्रतिस्पर्धामा हुनुहुन्छ । 

दुई जना उपसचिवका लागि खोटाङका देवान राई,मोरङका खेम नेपाली र  झापाकी जलवर्षा राजवंशी प्रतिस्पर्धामा हुनुहुन्छ । भूगोलबाट आउने सदस्यमा केही जिल्लामा सर्वसम्मति भएको छ भने सर्वसम्मति हुन नसकेको सदस्य पदका लागि पनि मतदान भएको छ ।