काठमाडौं,१५ असोज ।   नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा प्रतिनिधि भएर मतदान नगर्ने कार्यकर्ताहरुको खोजी भएको छ । ९९७ प्रतिनिधिमध्ये २० जनाले मतदान नगरेपछि उनीहरु को–को हुन् भनेर नाम सार्वजनिक गर्नुपर्ने माग कार्यकर्ताहरुले सामाजिक सञ्जालमा गरेका छन् ।

निर्वाचन कमिटीले मत नहाल्नेहरुको नाम सार्वजनिक नगरेपनि सम्बन्धित जिल्लाका नेताहरुले भने आफ्नो जिल्लाबाट आएर मतदान नगर्ने प्रतिनिधिहरुको नाम बताएका छन् ।

यसरी मतदान नगर्नेमा उम्मेद्वार बनेका देखि प्रदेश सांसदसम्म रहेका छन् । कोही प्रतिनिधि भने विदेश जानका लागि मत नहाली काठमार्डौ एयरपोर्ट पुगेको एमाले नेताहरुले बताएका छन् ।

झापाकी प्रदेश सांसद तारा ढकाल अचानक बिरामी भएपछि मतदानमा सहभागी नभएको बताइएको छ । उनी अस्पतालमा भर्ना भएको एमालेका एक नेताले बताए ।

त्यस्तै झापाकै गणेश बस्नेत भने विदेश जानका लागि काठमाडौँ पुगेको बताइएको छ । बस्नेत क्यानडा जाने तयारी रहेको बुझिएको छ ।

प्रदेश सदस्यमा उम्मेदवारी दिएका संखुवासभाका पृथक पाठक मतदान गर्न नआएको खुलेको छ । उनलाई उम्मेदवारी फिर्ता गरेर यथोचित जिम्मेवारी दिने नेताहरुले प्रयत्न गरेको तर उनी नमानेपछि मतदान नगरी हिँडेको बताइएको छ ।

धनकुटाका नगरपालिका मेयर चिन्तन तामाङ पनि विदेश जानका लागि काठमाडौँ पुगेका छन् । तामाङ अस्ट्रेलिया जान लागेका छन् ।

धनकुटाका सुरेन्द्र पौडेल पनि मतदानमा सहभागी भएनन् । सुनसरीको बराहक्षेत्रबाट चुनाव लडेर विजयी भई प्रतिनिधि बनेका केदार बिष्ट पनि मतदान गर्न आएनन् ।

भोजपुरका पूराना नेता धनहर्क राई भने बिरामी भएर नआएको एमाले भोजपुरले जनाएको छ । जिफन्टबाट प्रतिनिधित्व गर्दै मोरङबाट प्रतिनिधि बनेकी कला डाँगी पनि मतदानमा सहभागी नभएको पाइएको छ ।

इलाम चुलाचुलीका पूर्वअध्यक्ष प्रदिपचन्द्र राई, डम्बर बहादुर कार्की र थम्बर थामी पनि मतदानमा सहभागी भएनन् । उनीहरुले भने मतदान गरेर सही गर्न बिर्सिएको दाबी गरेका छन् ।

पाँचथरका अमर राई पनि मतदानमा सहभागी नभएको सचिवका उम्मेदवारसमेत रहेका राजकुमार भण्डारीले बताए ।

सोलुखुम्बुका कुमार राई बिरामी भएका कारण अधिवेशनमा सहभागी भए पनि उनलाई उपचारका लागि काठमाडौ लगिएको थियो ।

मतदान नगर्ने अरु प्रतिनिधिको नाम प्राप्त हुन सकेको छैन् । कतिपय प्रतिनिधिले विदेश जाने बुझ्दै किन नेताहरुले अरुलाई रोकेर प्रतिनिधि बनाएको भनेर प्रश्न गरेका छन् । धनकुटाका एक प्रतिनिधिले तामाङ विदेश जाने थाहा हुँदाहुँदै प्रतिनिधि बनाइएको बताए ।

कतिपय बिरामी र अपरेशसनको समय थाहा हुँदा हुँदै पनि प्रतिनिधि बनाएर ल्याइएको भन्दै उनीहरुलाई नल्याएको भए हुनेथियो भनेर असन्तसष्टि व्यक्त गरेका छन् । पूर्वेली प्रेसबाट