विराटनगर,१८ असोज । नेकपा एमालेका नेता एवम् कोशी प्रदेश अध्यक्षका प्रत्यासी विनोद ढकालले आफूलाई हराउन प्रदेशको सत्ता प्रयोग गरिएको बताएका छन् ।
बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै सरकार विस्तारसमेत आफूलाई हराउनका लागि गरिएको बताए । उनले भने, ‘मलाई कसकसले हराउन केके गरे सबै तपाईहरुलाई थाहा छ । यहाँको प्रदेश सत्ता पनि प्रयोग भएको छ । मन्त्री पनि त्यसैका लागि बनाइएको हो ।’
‘तर, मलाई सहयोग गरेकै कारण कुनै नेता कार्यकर्तामाथि विभेद भए त्यसको संरक्षणका लागि म उभिन्छु उनले भने, ।’ आफू पञ्चायत कालदेखि नै पार्टी राजनीतिमा सक्रिय भएको र पार्टीमा कुनैपनि अवस्थामा विचलित नभईकन लागेकाले अब पनि थप सक्रियताका साथ लाग्ने बताए ।
आफूले निर्वाचनको नतिजालाई स्वीकार गरेको बताउँदै उनले आफू पार्टीको मुल नेतृत्वको स्प्रिटमा नै रहेको बताए । नयाँ कार्यसमितिलाई आफ्नो तर्फबाट बधाई दिँदै ढकालले सकारात्मक हिसाबले कार्यसमितिलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
निर्वाचनमा निष्पक्षता नभएको विषयमा बोल्दै उनले भने, ‘पार्टीका नेताहरुको घेराबन्दी कार्यकर्तालाई थर्काउने फकाउने क्रियाकलापलाई मुल्यांकन गर्दा त्यो कहाँबाट भयो भन्ने प्रष्ट हुन्छ ।’
पार्टीका केही स्थायी कमिटीका सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई देखाएर यस्तो काम गरेको बताउँदै ढकालले उनीहरुबाट नै निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको बताए ।
शपथ ग्रहण कार्यक्रममा आफूलाई प्रत्यासीको रुपमा बोल्नसमेत नदिएकाले नयाँ कार्यसमितिलाई बधाई दिन र आफ्नो धारणा व्यक्त गर्न पत्रकार सम्मेलन गरेको उनले प्रस्टिकरण दिए ।




















