इटहरी,२९ असोज। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेश कमिटीले सोमबार इटहरी बसपार्कमा यातायात मजदुरहरुलाई सडक सुरक्षा बारे सचेतना गराएकोछ ।
चाडपर्वको आगमनसंगै बढीरहेको सडक दुर्घटना न्युनिकरण गर्ने उदेश्यले चालक, सहचालक, बुकिङ तथा सर्वसाधारणलाई लक्षित गरि संगठनले बसपार्कमै सडक सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
सडक दुर्घटनामा परेर प्रत्येक दिन सरदर आठ जनाले ज्यान गुमाउने गरेको, प्रत्येक महिना २ सय ४० जनाको ज्यान जाने गरेको र प्रत्येक वर्ष सरदर २ हजार ८ सय ८० जनाको मृत्यु हुने गरेको तथ्य प्रस्तुत गर्दै सबै नेपालीहरु सडक दुर्घटनाको जोखिममा रहेकाले सडक सचेतना देशव्यापी रुपमा सञ्चालन गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताउनुभयो ।
सडक दुर्घटनामा परेर प्रत्येक वर्ष १४ हजार ४ सयको हाराहारीमा घाईते भईरहेको बताउदै दसैँ आसपास सडक दुर्घटनाको संख्या ह्वात्तै बढ्ने गरेकाले सबै भन्दा बढी यातायात मजदुरहरु सडक सुरक्षा बारे सजग हुनु पर्ने मजदुर नेता राईले बताउनु भयो ।
सडक दुर्घटना हुनुमा पर्याप्त सडक पूर्वाधारो अभाव, मापदण्डविपरित प्रविधिविहिन सडक, अत्यधिक सवारीको चाप हुने गरेको राईको तर्क थियो । त्यस्तै चालक, पैदलयात्री, सडक प्रयोगकर्ताको चेतना, ज्ञान र सीपमा कमि, यान्त्रिक रुपमा सवारीसाधन ठिक नहुनु, सवारी साधनमा प्रयोग हुने ईन्धन र पार्टपुर्जाहरु ठिक अवस्थामा नहुदा सडक दुर्घटना हुने गरेको तथ्यले देखाएको राईको कथन थियो ।
चाडबाडको समय यात्रुको चाप बढ्ने तर, सिमित सवारीसाधन र नियमित रुटका सवारीसाधनमा आवश्यकता भन्दा बढी यात्रुको चाप बढी हुनाले पनि सडक दुर्घटना बढ्ने भएकाले मजदुरहरुले संयमता र होसियारीसाथ काम गर्नु पर्ने राईले बताउनु भयो ।
यातायात क्षेत्रका विज्ञ समेत रहेका राईले उक्त कार्यक्रममा यातायात मजदुरहरुलाई चाडपर्वका समय कसरी काम गर्ने भन्ने सुझाव समेत दिनु भएको थियो ।
सवारीसाधन चलाउँदा हतार नगर्ने, मोवाइल फोनमा कुरा नगर्ने, ओभरलोड गरेर सवारीसाधन नचलाउने, तनावमुक्त भएर सवारीसाधन चलाउने, यात्रुसंग राज्यले तोकेको भन्दा बढी भाडा नलिने, सवारीसाधनको यान्त्रिक अवस्था ठिक भएनभएको प्रत्येक ट्रिपपिच्छे चेकजाँच गर्ने, सवारीसाधनको कागजातहरु र सवारी चालक अनुमतिपत्र लाइसेन्स ठिक र सुरक्षित राख्ने,
एउटै रफ्तारमा सुरक्षित तरिकाले सवारीसाधन चलाउने, तिब्र गतिमा सवारी चलाउने राजमार्गहरु सबैको साझा सम्पिति हो । राजमार्ग प्रयोग गर्ने सबैको अधिकारको सम्मान गर्दै संयमता पूर्वक राजमार्ग प्रयोग गर्ने,
खानपान र जीवनशैलीलाई चाडबाडभरी सन्तुलित बनाउने, काम र जीवनलाई सन्तुलित गर्ने, काम, विश्राम र परिवारसंगको मनोरञ्जनलाई ध्यान दिने, आफ्नो सवारीसाधनमा महिला, बृद्धबृद्धा, बालबालिका, अशक्त र फरक क्षमताका यात्रुहरुलाई सम्मान गर्ने, लामो दुरीका सवारीसाधनमा काम गर्ने मजदुरहरुले गुणस्तरहिन खाना विक्रि गर्ने होटलमा यात्रुलाई नलाने लगायतका सुझावहरु दिएकाछन् ।
कार्यक्रममा ट्राफिक प्रहरी, जनपद प्रहरी, इटहरी बसपार्क व्यवस्थापन समिति, स्थानीय व्यापारीहरु, नागरिक समाजका प्रतिनिधि तथा यातायात श्रमिकहरुको उपस्थिति रहेको थियो । संगठन कोशी प्रदेशका अध्यक्ष गौरी लामोको अध्यक्षतामा भएको कार्यक्रम सचिव महेश घिमिरेले सञ्चालन र कोषाध्यक्ष काजी राईले स्वागत गर्नु भएको थियो ।




















