काठमाडौँ,२कात्तिक।नेकपा मालेले पार्टीका जिल्ला तथा पालिका तहका अधिवेशन आगामी माघ मसान्तभित्र सम्पन्न गर्ने भएको छ । 

नेकपा एमाले केन्द्रीय संगठन विभागको गत असोज ३० गते बसेको बैठकले प्रदेश कमिटीका अधिवेशन निर्धारित समयमा सम्पन्न भइसकेका हुँदा जिल्ला, स्थानीय तह र वडा तहका अधिवेशन माघ मसान्त भित्र सक्ने निर्णय गरेको छ । 

बैठकले फागुन र चैत महिनामा पार्टी सदस्यता नवीकरणसँगै वडा र टोल कमिटीका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । पार्टीका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकले पार्टी सदस्यता प्रमाणीकरण प्रतिवेदन अनुमोदन गरेको छ । सो अनुसार भारत प्रवास र अन्तर्राष्ट्रिय कमिटी मातहतका सदस्यबाहेक पार्टीका ५ लाख ५० हजार सदस्यहरूको सदस्यता प्रमाणीकरण भएको छ । 

बैठकले सदस्यता स्थानान्तरण पनि खुला गरेको पार्टीका केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव माधव ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

प्रेस विज्ञप्ति 

नेकपा (एमाले) केन्द्रीय संगठन विभागले गत असोज २९ र ३० गते संगठनको कामका सन्दर्भमा विभागका पूर्व प्रमुखहरूसँग मार्गदर्शन लिने काम गरेको छ । विभागको कामलाई विद्युतीय प्रणालीमा रूपान्तरण गर्ने सन्दर्भका देखिएका प्राविधिक समस्या र अस्पष्टतालाई स्पष्ट पार्ने र यसले दिएको दिशा निर्देशलाई आत्मसात् गर्दै निर्णय गर्न र योजना बनाउन विभागको १६औँ बैठक असोज ३० गते सम्पन्न भयो ।   

संगठन विभागका पूर्व प्रमुखहरूसँगको अन्तरक्रिया तथा मार्गदर्शन कार्यक्रममा संगठन विभागका पूर्व प्रमुखहरू वरिष्ठ उपाध्यक्ष कमरेड ईश्वर पोख्रेल, उपाध्यक्ष कमरेड विष्णु पौडेल, सल्लाहकार परिषद्का अध्यक्ष कमरेड अमृतकुमार बोहरा र स्थायी कमिटी सदस्य कमरेड खगराज अधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा उहाँहरूले आ–आफ्ना  अनुभव सहितका मार्गदर्शन मन्तव्य राख्नुभएको थियो । कार्यक्रम पार्टी महासचिव कमरेड शंकर पोख्रेलको समेत उपस्थिति रहेको थियो । पूर्व प्रमुखहरूसँगको मार्गदर्शनले संगठन विभागलाई पार्टीको संगठनात्मक जीवनमा ठोस नीति बनाउन र निर्णय लिन योगदान पुग्ने विश्वास गरिएको छ ।

यसै गरी संगठन विभागसँग जोडिएका प्राविधिक समस्याहरूको सूची तयार पारी संगठन विभाग र पार्टी सदस्यहरूको अभिलेख व्यवस्थापन र सञ्चालन अनलाइन प्रणाली अनुसार गर्न जिम्मा दिइएको सूचना प्रविधि तथा प्राविधिक समूह बिचको अन्तर्क्रिया पार्टीका उपमहासचिव कमरेड विष्णु रिमालको विशेष उपस्थितिमा सम्पन्न भएको छ । यस कार्यक्रमबाट अनलाइन प्रणालीमा आएका समस्याहरूको जानकारी र यसका विषयमा थप दीक्षित हुने र यसलाई तीव्र गतिका साथ व्यवस्थापन गर्न विशेष पहलकदमी गर्न विभागलाई थप ऊर्जा मिलेको छ । 

संगठन विभागको जिम्मेवारीमा बसेर महत्त्वपूर्ण योगदान गरेका नेता कमरेडहरूको अनुभवसहितको मार्गदर्शन पश्चात् २०८० असोज ३० गते नेकपा ९एमाले० केन्द्रीय संगठन विभागको १६औँ बैठक विभागका प्रमुख कमरेड काशीनाथ अधिकारीको अध्यक्षतामा बस्यो ।  सम्पूर्ण सदस्यहरूको उपस्थितिमा बसेको यस  बैठकले गरेका महत्त्वपूर्ण निर्णय यस प्रकार छन्: 

१. बैठकमा विभाग प्रमुख काशीनाथ अधिकारीले प्रस्तुत गर्नुभएको २०७९ र २०८० मा सम्पन्न पार्टी सदस्यता नवीकरण सम्बन्धी समग्र प्रतिवेदनलाई अनुमोदन गरियो । भारत–प्रवास र अन्तर्राष्ट्रिय कमिटी मातहतका सदस्यहरू बाहेक देशभित्र रहेका सदस्यहरूमध्ये संगठन विभागबाट साढे पाँच लाख सदस्य प्रमाणीकरण गरिएको छ । 

२. तोकिएको समयभित्रै पार्टी सदस्यता नवीकरण कार्य सम्पन्न गरी तोकिएकै समयावधिमा अधिवेशन सम्पन्न गर्न सफल भएकोमा पार्टीका सम्पूर्ण प्रदेश संगठन कमिटीहरूलाई धन्यवाद दिने र नवनिर्वाचित कमिटीहरूलाई बधाई दिने निर्णय भएको छ । त्यसका साथै नवनिर्वाचित प्रदेश कमिटीहरूले तत्काल मापदण्डका आधारमा प्रदेश कमिटीभित्र सचिवालय बनाउने, सबैलाई जिम्मेवारी हुने गरी कार्य विभाजन गर्ने, पार्टी केन्द्रको अपानि – ७ मा उल्लेखित वार्षिक कार्ययोजनाको मार्गदर्शनमा प्रदेशको वार्षिक कार्ययोजना बनाउने र अधिवेशन पश्चात् जिम्मेवारी बाहिर रहेका पार्टी नेता कार्यकर्ताहरूलाई पार्टी काममा उत्साहित ढङ्गले क्रियाशील हुने परिस्थितिको निर्माण गर्न प्रदेश कमिटीलाई ध्यानाकर्षण गर्ने ।

३. पार्टी तथा जनसंगठनका स्थानीय अधिवेशनहरूका सम्बन्धमा गरिएका निर्णयहरू:

. जिल्ला र पालिका तहका पार्टी अधिवेशनहरू माघसम्म सम्पन्न गर्ने गरी कार्ययोजना बनाउने र फागुन र चैत्रमा सदस्यता नवीकरण अभियान सँगसँगै वडा तथा टोल तहका पार्टी अधिवेशनहरूको आयोजना गर्ने ।

. केन्द्रीय संगठन विभागबाट प्रमाणीकरण गरिएको नवीकृत सदस्यहरूको सूचिमा रहेका पार्टी सदस्यहरूले मात्र स्थानीय पार्टी अधिवेशनको प्रक्रियामा सहभागी हुन पाउनेछन् । 

.पार्टी आबद्ध जनसङ्गठनहरूको असार–असोज अभियानमा सम्पन्न गर्ने भनिएका प्रदेश तथा जिल्ला तहका अधिवेशनहरू आउने मङ्सिर भित्र आयोजना गरिसक्ने ।

४. पार्टीका नेता तथा कार्यकर्ताको राजनीतिक सांगठनिक विवरण व्यवस्थित गर्ने सिलसिलामा प्रारम्भमा केन्द्रीय निकायका कमरेडहरूको तत्सम्बन्धी जानकारी लिन फर्म बनाई  तीन महिनाभित्र अभिलेख व्यवस्थित गर्ने ।

५. परीक्षण कालमा रहेका नयाँ पार्टी सदस्यहरूलाई प्रारम्भिक प्रशिक्षण दिनका लागि केन्द्रीय पार्टी स्कुलसँग परामर्श गर्ने र सो बमोजिम प्रशिक्षण चलाउने ।

६. साउनदेखि रोकिएको सदस्यता स्थानान्तरण कार्यलाई बैठकले खुला गर्ने निर्णय गरेको छ । सदस्यता स्थानान्तरण गर्न चाहने सदस्यले सम्बन्धित जिल्लाको अधिवेशनको मिति नतोकिँदासम्म आफ्नो सदस्यता स्थानान्तरण गर्न सक्नुहुने निर्णय गरिएको छ । 

७. विभिन्न कारणले सम्बन्धित कमिटीको कारबाहीमा परेका तर आफ्नो कमजोरी आत्मसात् गरी लिखित आत्मालोचना गरेका र व्यवहारबाट विश्वास जितेका कमरेडहरूलाई उपयुक्त जिम्मेवारी दिएर परिचालन गर्न उदारता अपनाउन निर्देशन गर्ने निर्णय गरिएको छ ।