सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष प्रेम सिंह तामाङ गोलेले सोमबार सिक्किमको छैठौं मुख्यमन्त्रीको सपथ लिएसँगै ११ सदस्यीय मन्त्री परिषद गठन गरेका छन्।

सिक्किमका राज्यपाल गंगा प्रसादले आइतबार भ्रष्टाचारको मुद्दामा एक वर्ष जेल बसेर निस्केका र विधायक पनि नरहेका गोलेलाई मुख्यमन्त्रीमा सपथ गराउने स्वीकृति दिएका थिए।

सोमबार बिहान १० बजे गोलेले गान्तोकको पाल्जर रंगशालामा आफ्ना कार्यकर्ता र समर्थककाबीच मुख्यमन्त्रीको शपथ लिएका हुन्। जुन समारोह पवन चाम्लिङ नेतृत्वको विपक्षी सिक्किम डेमोक्रेटिक फ्रन्टले बहिस्कार गरेको छ।

भ्रष्टाचारको मुद्दामा एक वर्षको जेल सजाय पाएका गोले कानुनी अड़चनका कारण चुनाउ लड्न पाएनन्। यसैले उनी निर्वाचित विधायक होइनन्। नियम अनुसार मुख्यमन्त्री कायम रहन उनले आगामी ६ महिनाभित्र विधायकमा निर्वाचित हुनपर्नेछ।

मुख्यमन्त्री गोलेले ११ सदस्यीय मन्त्री परिषद पनि गठन गरेका छन्। यस्तो छ गोलेको मन्त्री परिषदः

१. प्रेमसिंह तामाङ गोले (मुख्यमन्त्री) 
२. कुङ्गा निमा लेप्चा
३. सोनाम लामा
४. बेदुसिंह पन्त
५. डा मणिकुमार शर्मा
६. अरुण कुमार उप्रेती
७. साम्डुप लेप्चा
८. लोकनाथ शर्मा
९. मिङ्मा नोर्बु शेर्पा
१०. कर्मा लोडे भोटिया
११. भीमहाङ सुब्बा
१२. सञ्जीत खरेल

११ जना मन्त्रीहरूको विभाग छुट्याइएको छैन।

 

नरबहादुर भण्डारीले शिक्षकबाट निकालेपछि यसरी उदाए राजनीतिमा गोले 
पश्चिम जिल्लाको सोरेङ अन्तर्गत सिङ्लिङमा ५ फरवरी १९६८ मा जन्मेका प्रेमसिंह तामाङ गोले सिक्किमको पछिल्लो राजनीतिमा चर्चित अनुहार हो।

स्नातकसम्म अध्ययन गरेका गोले शिक्षण पेशा छाडेर सक्रिय राजनीतिमा आएका हुन्। पवन चामलिङको नेतृत्वमा सन् १९९३ मा सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) पार्टी गठन भएपछि शिक्षण पेशा छाडेर गोले सक्रिय राजनीतिमा प्रवेश गरेका थिए।

४ मार्च १९९३ सालमा एसडीएफ पार्टी स्थापना हुँदा उनी यो पार्टीको संस्थापक सदस्य थिए। राजनीतिमा सक्रिय भएपछि तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीको शिक्षा विभागले उनलाई शिक्षक पेशाबाट निष्कासित गरेको थियो।

त्यसपछि १९९४ मा राज्य विधानसभाको चुनावमा प्रेमसिंह तामाङ गोले तत्कालीन च्याखुङ समष्टिबाट निर्वाचित भए। पहिलोपटक राज्य विधानसभा छिरेका उनी एसडीएफ सरकारमा पशुपालन, धर्म र उद्योग विभागका मन्त्री बने।

तामाङ समुदायबाट राज्यको मन्त्री बन्ने गोले सिक्किमकै पहिलो व्यक्ति थिए। १९९९ मा गोले पुनः च्याखुङ समष्टिबाट दोस्रोपटक निर्वाचित भए। दोस्रो कार्यकालमा उनी पशुपालन र उद्योग विभाग मन्त्री भए।

त्यसपछि द्दण्ण्द्ध सालमा च्याखुङ समष्टिबाट लगातार तेस्रोपटक निर्वाचित भई भवन तथा आवास विभाग विभाग, खेलकुद तथा युवा मामिला विभागका मन्त्री बने।

२००४ सालमा राज्यको निर्वाचन क्षेत्रको पुनर्सिमाङ्कन हुँदा च्याखुङ समष्टि रहेन। त्यसपछि २००९ सालको निर्वाचनमा उनलाई राजधानी गान्तोक नजिक अप्पर बुर्तुक निर्वाचन क्षेत्रबाट एसडीएफ उम्मेदवार बनाइयो। यो निर्वाचनमा फराकिलो मतले उनले जिते तापनि मन्त्री पद भने पाएनन्।

त्यसपछि बिस्तारै गोले र चामलिङबीच सम्बन्ध चिसिँदै गयो। उनी चामलिङ र एसडीएफ सरकाविरुद्ध बोल्न थाले। करिब पाँच बर्ष पवन चामलिङ र एसडीएफ सरकारको विरोध गरेपछि ४ फेब्रुअरी २०१३ मा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) गठन गरी पार्टीगत रूपमै पवन चामलिङ र एसडीएफ सरकारविरुद्ध ओर्लिए।

२०१४ को निर्वाचनमा १० सिट सहित एसकेएम राज्यको प्रमुख विपक्षी पार्टीको रूपमा उदायो। करिब १० वर्षको सङ्घर्षपछि गोलेले एसडीएफको २५ बर्षे सत्ता उल्टाएर सिक्किमको छैठौं मुख्यमन्त्री बनेका छन्।