काठमाडौं,३ मंसिर । नेकपा एमाले सिद्ध्याउने र देशमा राजतन्त्र स्थापित गर्ने भन्दै भ्रम फैल्याएर चन्दा सङ्कलनको अभियानमा लाग्नु भएका दुर्गा प्रसाईँका एक पछि अर्को कुकृत्य सार्वजनिक भएको छ ।
दुबईमा अलपत्र परेका नेपालकीको शव आफ्नै खर्चमा स्वदेश फर्काएको भन्दै वाह वाह कमाउनुभएका प्रसाईँले नेपालीको शव नेपाल ल्याउन दुबईका व्यवसायीहरूले हालिदिएको रकम नतिरेको अडियो सार्वजनिक भए लगत्तै प्रसाईँको अर्को चर्तिकला सार्वजनिक भएको छ ।
प्रसाईँ दुबईमा बस्दा महिलासँग अवैध शारीरिक सम्बन्धमा रहने गरेको र अहिले ती महिलाले यथार्थ सार्वजनिक गर्ने बताएपछि प्रसाईँको होस हवास उडेको छ । सो घटनालाई मिलाइदिन प्रसाईँले हारगुहार गरेको टेलिफोन संवादको अडियो सार्वजनिक भएको छ ।
आफूसँग दुबईमा बसेकी ती महिलाले अहिले आफूलाई दिनैपिच्छे म्यासेज पठाएर हैरान पारेको प्रसाईँले दुबईका व्यापारीसँगको संवादमा बताउनुभएको छ । ती महिलाले आफूलाई बदनाम गराइदिन्छु भन्दै मानसिक यातना दिएकोले समस्या समाधान गरिदिन प्रसाईँले हार गुहार गर्नुभएको छ ।
प्रसाईँसँग मोबाइलमा कुरा गर्ने व्यवसायी तिनै हुन् जसको सहायताले प्रसाईँले नेपालीका शव दुबईबाट नेपाल ल्याउन १ करोड ५० लाख रुपैँया सापटी भनेर लिनुभएको थियो । प्रसाईँले अहिलेसम्म सो रकम तिर्नु भएको छैनन् ।
नेपालका विभिन्न बैङ्कहरूबाट सात अर्ब बढी ऋण लिएका प्रसाईँले बैङ्कहरूको ऋण तिर्नुभएको छैन । प्रसाईँको कारण नेपालका धेरै बैङ्कहरू समस्यामा परेका छन् । प्रसाईँ बैङ्कबाट लिएका ऋण मिनाहा हुनुपर्ने भन्दै सर्वसाधारणलाई समेत भ्रममा पारेर बैङ्क र वित्तीय संस्था विरुद्ध आन्दोलन चलाउँदै हुनुहुन्छ ।
बैङ्कबाट लिएको ऋणबाट कता जाँदा उन्मुक्ति पाइन्छ भन्दै भइतिरिएर हिँड्नु भएका प्रसाईँ नेकपा माओवादी केन्द्रदेखि नेकपा एमाले हुँदै अहिले राजा फिर्ता ल्याउने अभियानमा लाग्नु भएको छ । तर कतै जाँदा उहाँको तुष्टि पूरा नभएपछि प्रसाईँ अहिले देशको सबैभन्दा बलियो राजनीतिक शक्ति नेकपा एमाले, सो पार्टीका अध्यक्ष केपी शर्मा ओली र पार्टीका नेता विरुद्ध छानिछानी खनिनु भएको छ ।
ऋणमा चुर्लुम्म डुबे पनि प्रसाईँको विलासी जीवन भने फेरिएको छैन । प्रसाईँ आफूले चढ्ने गाडी नेपालकै सबैभन्दा महँगो भएको बताउँदै आउनुभएको छ । आफ्नो नातिको लागि मात्रै ७ करोडका गाडी किनिदिएको कुरा उहाँले सार्वजनिक रूपमा बताउँदै आउनुभएको छ । त्यस्तै नातिलाई पढाउनकै लागि करोडौँ रुपैँयाको लगानीमा विद्यालय बनाएको उहाँको अभिव्यक्ति सार्वजनिक भएको छ ।
प्रसाईँले आफ्नै सुरक्षाकर्मी तयार गरेका भन्दै बेला बेलामा प्रदर्शन समेत गर्ने गर्नुभएको छ । आफ्ना सुरक्षाकर्मीलाई बेला बेलामा प्रदर्शन गर्दै सलामी समेत खाने गर्नुभएको छ ।
बैङ्क, सहकारी र वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा गराएरै छाड्छु भन्दै प्रसाईँले भ्रम फिँजाएर केही सर्वसाधारणको समेत साथ लिने प्रयास गरिरहनुभएको छ । अहिले राजा फिर्ता ल्याउने आन्दोलन चलाउनको लागि आर्थिक सहायता भनेर माग गर्दै प्रसाईँले आफ्नो बैङ्कको क्युआर कोड सार्वजनिक गर्नुभएको छ । यो प्रसाईँको चन्दा उठाउने अभियान भएको भन्दै स्वयम् राजावादी राजनीतिक दलले समेत आलोचना गरिरहेका छन् । सनराइज खबरबाट


