काठमाडौं,१२ मङ्सिर । काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र मङ्सिर २७ देखि प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ । मंगलबार महानगर स्वास्थ्य विभागले १५ दिनको अवधि दिएर यसबारे जानकारी गराएकाे हाे ।
सूचनामा सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका (चुरोट, विँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सूर्तीजन्य पदार्थको भण्डारण, विक्री र प्रयोगमा रोक लगाउने उल्लेख गर्दै कसैले विक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्ने भनिएको छ ।
‘हामी स्वस्थ्य सहर निर्माणको अभियानमा छौँ । २९ औँ महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानी पुर्याउने सूर्तीजन्य बस्तुको भण्डारण, विक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेका हौँ’, स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल भन्छन्, ‘काठमाडौँ महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा यस सम्बन्धी व्यवस्था छ । ऐनको दफा ४२ अनुसार सूर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ । सूर्तीजन्य बस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको हो ।’
ऐनले सार्वजनिक स्थलहरुको चारकिल्ला तोकेर त्यस वरपर सूर्तीजन्य र ज्ङ्क फुड बिक्री वितरण गर्न निषेध गर्न सक्ने व्यवस्था गरेको छ ।सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनमा पनि यस सम्बन्धी व्यवस्था छ । २०६८ सालमा जारी भएको ऐनको दफा ४ मा सार्वजनिक स्थलहरु (शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लबहरु, सार्वजनिक शौचालयहरु, होटल, रेष्टुरेण्टहरु, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयहरुलगायतका स्थलहरुमा धुम्रपान, चुरोट, विँडी, सिंगारू तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ती, खैनी, गुट्खा) सूर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गरेको छ ।
जनस्वास्थ्य विभागका प्रमुख पौडेलका अनुसार सहरको स्वच्छता, स्वस्थ्यता र वातावरणीय सुधारका लागि धूम्रपान नियन्त्रण पहिलो सर्त हो । दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम चलाइने उनले बताए ।


