विराटचोक,२४ पुस । मोरङको सुन्दरहरैँचामा अवस्थित सुकुना बहुमुखी क्याम्पसमा दोस्रो चरणको क्युएए (QAA) नविकरणका लागि विश्वविद्यालय अनुदान आयोग नेपाल (UGC Nepal) को समकक्षी पुनरावलोकन टोलीले तेस्रो दिनको अनुगमन‚ छलफल‚ अन्तर्क्रिया र मूल्याङ्कनको कार्य सम्पन्न गरेका छन् ।
आइतबार क्याम्पस आइपुगेका विश्वविद्यालय अनुदान आयोगका संयोजक प्रा.डा. तीर्थराज खनिया‚ प्रा.डा. सुशीलभक्त माथेमा‚ प्रा.डा. रेजिना मास्के र आयोगको क्युएए (QAA) की डेपुटि डाइरेक्ट भगवती पौडेलले मंगलबार तेस्रो दिनको अनुगमन‚ छलफल‚ अन्तर्क्रिया र मूल्याङ्कनको कार्य सम्पन्न गरेका हुन् ।
तेस्रो दिन पहिलो चरणमा क्याम्पसमा कार्यरत कर्मचारीहरू सँग पेशागत सन्तुष्टि‚ सेवासुविधा‚ पेशागत विकास र सरोकारवालाहरू सँगको सम्बन्धका विषयमा विज्ञटोलीले छलफल र अन्तरक्रिया गरेको क्याम्पस प्रशासनका कर्मचारी जीवन भट्टराईले जानकारी दिए ।
दोस्रो चरणमा उक्त टोलीले अभिभावक र नागरिक समाजका प्रतिनिधिहरू सँग क्याम्पसलाई उत्कृष्ट बनाउन गर्नुपर्ने उपायहरूका विषयमा छलफल गरेको थियो । तेस्रो चरणमा विज्ञ टोलीले अनुसन्धान व्यवस्थापन एकाइ (RMC-Sukuna) अनुसन्धान क्रियाकलापहरूको अवलोकन र मूल्याङ्कन गर्दै अनुसन्धानलाई विकास र विस्तारका कार्य गर्न अपनाउनु पर्ने उपायका विषयमा छलफल गरेको थियो ।
टोली समक्ष क्याम्पसले अनुसन्धानका क्षेत्रमा गरेका कार्य र यसका लागि गरेको बजेट व्यवस्थाका विषयमा एकाइका प्रमुख गणेशप्रसाद दहालले प्रिजेन्टेसन गरेका थिए ।
चौथो चरणमा टोलीले आन्तरिक गुणस्तर सुनिश्चितता समिति र स्वमूल्याङ्कन समिति सँग छलफल र अन्तरक्रिया रेको थियो भने पाचौँ चरणमा क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखहरू सँग बैठक गरेको थियो ।
छैटौँ चरणमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको प्रतिभा प्रदर्शन अन्तर्गत विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य‚ गायन र कविता वाचनको अवलोकन गरेको थियो ।
टोलीले बुधबार चौथो दिनको छलफल‚ सुपरिवक्षण र मूल्याङ्कनको काम पूर्वनिर्धारित कार्यतालिकाअनुसार गर्ने विषयको जानकारी सहायक क्याम्पस प्रमुख दहालले जानकारी गराएका छन् ।




















