काठमाडौं,२८ पुस । गएको मंगलबार काठमाडौं हात्तीगौंडाबाट पक्राउ परेका कथित तपस्वी रामबहादुर बम्जन पुर्पक्षका लागि कारागारचलान भएका छन् । सर्लाहीमा कारागार नहुँदा उनलाई महोत्तरी कारागार लगिएको हो ।
जलेश्वर कारगारमा पुगेपछि जीमखानाको माग गरेका छन् । बालयौन शोषण र व्यक्ति बेपत्ता बनाएको अभियोगमा पुर्पक्षको लागि जेल चलान भएका उनले कारागारमा जीमको सुविधा मागेका हुन् ।
बम्जन पक्राउ परेका घरभित्र जिमखाना नै खडा गरेको भेटिएको थियो । घरमा टप बाथसहितको नुहाउने ठाउँ र आरामदायी बेडरुम समेत थियो ।
बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान भएका बम्जनले आफूले घरमा जिम गर्ने गरेको भन्दै जेलमा भए नभएको सोधेका कारगारका एक कर्मचारीले बताए । आफूले घरमा जीम गर्ने भनेको भन्दै उनले यहाँ जीम छैन भनेर सोधेका थिए ।
कारगार साँघुरो भएका कारण बिहान हिँडडुल गर्ने ठाउँ मात्र रहेको र कारागारको सुविधाबारे उनलाई जानकारी गराएको कारागार प्रशासनका कर्मचारीले बताए ।
‘उनले गएराति अरु कैदी बन्दीलाई बनाएको खाना खान मानेनन्,’ जलेश्व कारागारका प्रमुख (जेलर) रामचन्द्र साहले भने, ‘मलाई छुट्टै खाना बनाएर दिनु, बेसार, लसुन, प्याज हालेको दाल, तरकारी म खान्न भन्ने कुरा उनले गरेका छन्।’आफूले बिहान कारागारमै गएर बम्जनलाई भेटेको उनले बताए।
‘मसँग उनले अरु कैदीबन्दीलाई बनाएको खाना आफूलाई नदिन आग्रह गरेका छन्,’ साहले भने,कारागारमा बम्जनसँगै अरू ५–७ जना जोगी कैदी पनि छन् । अब हामी बम्जनलाई पनि तिनै जोगीलाई बनाएको खाना दिन्छौँ।’बिहीबार साँझ सवा सात बजे जलेश्वर कारागार पुगेका बम्जनलाई अरु कैदीबन्दीसँगै राखिएको साहले बताए।
बम्जन बिहीबार साँझ सवा सात बजे जलेश्वर कारागार पुगेका थिए ।महोत्तरी कारागारमा पुरुष मात्र राखिएको छ । महिलालाई सिन्धुली कारागारमा राखिएको छ । कारागार साँघुरो भएकाले अरू धेरै सुविधा भने रहेको छैन ।


